माओवादी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको सम्भावना, महासचिवमा तीन आकांक्षी

67

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको छ। जारी आठौं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको हो। यसअघि केन्द्रीय समितिले १५ जना पदाधिकारी बनाउने प्रस्ताव गरेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’पछि दोस्रो वरीयतामा रहेका श्रेष्ठ नै वरिष्ठ उपाध्यक्ष हुने निश्चितजस्तै रहेको एक केन्द्रीय सदस्यले बताए। श्रेष्ठलाई व्यवस्थापन गर्नेगरी वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएकोले अन्य नेताको दाबी नहुने ती सदस्यको भनाइ छ।

उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्षमा व्यवस्थापन गर्न प्रचण्डलाई सजिलो भए पनि महासचिवमा सबैभन्दा धेरै सकस हुने देखिएको छ। माओवादीले जारी महाधिवेशनबाट उपाध्यक्ष छ जना, उपमहाचिव दुई जना, सचिव तीन जना बनाउने भएकोले पदीय व्यवस्थापन गर्न खासै समस्या नहुने बताएको छ।

तर, महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुने सम्भावना कम छ। पुन चीनमा उपचाररत भएकाले महाधिवेसनमा सहभागी हुन पाएका छैनन्। शर्मा र भुसालले महासचिव हुनेगरी आफूनिकट नेताहरुलाई माहोल बनाउन लागिसकेका छन्। एकले अर्कालाई सजिलै छोड्नसक्ने सम्भावना कम भएकाले सर्वसम्मत हुन गाह्रो हुने ती नेताले दाबी गरे।

महासचिवमा सजिलै मिल्नसक्ने सम्भावना नभएकाले अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ तथा  केन्द्रीय समिति मात्रै घोषणा गरेर बाँकी पदाधिकारी पछि घोषणा हुनसक्ने एक केन्द्रीय सदस्यले बताए। यस्तो भएको खण्डमा पछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिबाट निर्वाचन गरेर बाँकी पदाधिकारी चयन गर्नसक्ने उनको भनाइ छ।