सशस्त्र प्रहरीमा भद्रगोल एक वर्षदेखि डिएसपीका दरबन्दी रिक्त, साउनमा हुनुपर्ने सरुवा अझै भएन

7

 

सशस्त्र प्रहरीमा हाल प्रहरी नायब उपरीक्षक (डिएसपी) का ७० पद रिक्त छन् । त्यसमध्ये धेरैजसो पद करिब एक वर्षदेखि रिक्त भएका हुन् । माथिल्लो पद रिक्त हँुदा पनि १६ वर्षदेखि इन्स्पेक्टरहरू एउटै पदमा कार्यरत छन् । ०६२ फागुनमा भर्ना भएका छैटौँ ब्याचका सशस्त्र प्रहरी अधिकारीको एउटै पदमा सेवाअवधि १७ वर्ष हुन लागेको छ । तर, गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वको बेवास्ताका कारण पद रिक्त राखेर बढुवा प्रक्रिया अवरुद्ध पारिएको छ । जसले प्रहरीको मनोबलसमेत प्रभावित बनेको छ ।

सशस्त्रमा गत असारदेखि नै एसएसपीका ११ पद रिक्त थिए । गत मंसिरमा बल्ल बढुवा गरियो । तर, एसपी र डिएसपीका रिक्त पदमा भने बढुवाको अझै कुनै तयारी छैन । गृह मन्त्रालय र सशस्त्र प्रहरी बल बढुवाको विषयमा गम्भीर नहुँदा संगठनमा समस्या देखिएको हो । विगतमा वृत्ति विकास योजनाअनुसार दरबन्दी तय गरी भर्ना हुन नसक्दा इन्स्पेक्टरका पद धेरै तथा माथिल्लो तहमा थोरै हुँदा समस्या उत्पन्न भएको हो । जसकारण खासगरी ५, ६ र ७औँ ब्याचका इन्स्पेक्टरको करिअर अस्तव्यस्त बनेको छ ।

पहिलेदेखि नै सशस्त्र प्रहरीमा यो समस्या रहे पनि यसको समाधानको गम्भीर पहल भएको छैन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले इन्स्पेक्टर र डिएसपीको बीचमा प्रमुख इन्स्पेक्टर पद राख्ने प्रस्ताव गरे पनि संगठनभित्रै त्यसबारे सकारात्मक प्रतिक्रिया नपाएपछि स्थगित गरेका छन् । ‘कम्तीमा समयमा रिक्त पदमा बढुवा गरेको भए यो समस्या केही हदसम्म कम हुन्थ्यो,’ एक प्रहरी निरीक्षक भन्छन्, ‘हाम्रा पनि पेसागत सपना हुन्छन्, १६ वर्ष एउटै पदमा राख्ने र माथिल्लो तहमा पद रिक्त राख्दा त्यसले हाम्रो मनस्थिति कस्तो होला ?’

नियमित सरुवासमेत नहुँदा संगठन झन् अस्तव्यस्त बन्न पुगेको छ । सशस्त्रमा हरेक वर्ष साउन र भदौमा नियमित सरुवा हुन्छ । सामान्यतया गण, गुल्म तथा बोर्डर आउटर पोस्ट (बिओपी)मा जानेहरूको कार्यकाल एक वर्षको हुन्छ । डेढ वर्ष हुँदा पनि यो वर्ष कसैको सरुवा हुन सकेको छैन । कोही डेढ वर्षदेखि कार्यालयको इन्चार्ज बनेका छन् भने केही इन्चार्जको अनुभव बटुल्ने अवसरबाट वञ्चित भएका छन् । यसले अनियमितता र अराजकता पनि बढेको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । ‘एक वर्ष अवधि पुगेपछि इन्चार्जहरूको कार्यसम्पादन स्वतः कमजोर हुन्छ,’ ती अधिकारी भन्छन्, ‘अहिले त झन् अराजकता नै मौलाएको सुनिन्छ ।’ नियमित सरुवा रोके पनि शक्तिकेन्द्रनजिक हुने अधिकारीलाई भने काज सरुवा गरेर इन्चार्जमा पठाउने गरिएको छ ।

अकातर्फ नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै हुने गरी बनाइएको सरुवाको सिस्टमसमेत भत्किएको छ । सशस्त्र प्रहरीका प्रवक्ता मन्दिप श्रेष्ठले सरुवा–बढुवाका काम रोकिएकोबारे आफूलाई जानकारी नभएको बताए । यस विषयमा गृह मन्त्रालयको मुख्य भूमिका हुने उनको भनाइ छ । स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशन कुर्दाकुर्दै सशस्त्रमा सरुवा–बढुवा अवरुद्ध भएको हो ।