लागूऔषध चरेशसहित बिदेशी नागरिक पक्राउ

427

काठमाडौं:लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेस सहित २ जना बिदेशी टर्किस नागरिकलाई सोमबर पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कतार एयरलाइन्सको उडान मार्फत कतार हुँदै टर्की जान लागेकी टर्कीस नागरिक राहदानी नम्बर यु१३९६३८०८ बाहक २४ वर्षीया सुसोए सिलेन र अर्का टर्कीस नागरिक राहदानी नम्बर यु१३९६४८७० बाहक २९ वर्षीय इरगुने केमल रहेका छन् ।

चेकजाँचको क्रममा निज सिलेनले लगाएको ब्रा भित्र सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस ४८.५ ग्राम र निजले लगाएको पेन्टीभित्र गुप्तांगको भागमा पातलो सेतो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस २५३.५ ग्राम गरी जम्मा ३ सय २ ग्राम चरेश बरामद भएपछि प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा केमल समेतले सँगै खरिद गरेको भनी खुलाएकीले बिमानस्थल प्रस्थान कक्ष भित्रको अन्तिम गन्तब्य कक्षमा फेला पारी केमललाई समेत प्रहरीले पक्राउ गरेको हो । केमलले स्टेरलाईज्ड क्षेत्रभित्र रहेको फोहर फाल्ने डस्टबिनमा चेश फालेको खुलाएपश्चात मंगलबार फोहर फाल्ने डस्टबिनबाट सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागू औषध चरेस १ सय ५९ ग्राम बरामद भएको छ ।

उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको तथा बिशेष सक्रियताका साथ निज बिदेशी अभियुक्तहरुको पुर्ब हुन सक्ने आपराधिक गतिबिधि बारेमा बुझ्न सम्बन्धित देश र अन्तराष्ट्रिय स्तरका लागु औषध अनुसन्धान सरोकार निकायहरु ईन्टरपोलमा समेत आबश्यक समन्बय गरिएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।