अमेरिकामाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी, ट्रम्पले पनि दिए ड्रोन आक्रमण गर्ने अधिकार

474

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यास नरोके अमेरिकामाथि आक्रमण गरिने चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएसले यस्तो जानकारी दिएको हो ।अमेरिकी सेनाले सुरक्षा दिने बहानामा दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली र त्यसका लागि आवश्यक सेना तैनाथ गर्न सुरु गरेको छ ।

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास मार्च २४ तारिखसम्म चल्नेछ ।आफूलाई घेर्न अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेको उत्तर कोरियाको दाबी छ । अमेरिका र दक्षिणले उत्तर कोरियाली सम्प्रभुतामाथि दखल दिन खोजेको बताउँदै जल, स्थल, हवाई सबै क्षेत्रमा आक्रमण गरिने उसले स्पष्ट पारेको छ । यसको गम्भीर परिणाम भोग्नुपर्ने उसको भनाइ छ । अमेरिकासँग भएका हतियारलाई उत्तर कोरियाली सेनाले तह लगाउने प्योङयाङको भनाइ छ ।

अमेरिकाले पनि आफ्नो तयारीलाई अन्तिम रूप दिँदै दक्षिण कोरियामा आक्रामक ड्रोन प्रणाली तैनात गरेको छ । दक्षिण कोरियाली रक्षा विभागका प्रवक्ताले आगामी वर्षसम्म आक्रामक ड्रोन प्रणाली तैनाथ गरिनु सामान्य भएको जानकारी दिएका छन् । प्योङयाङले हालै चारवटा ब्ललिस्टिक क्षेप्यास्त्र परीक्षण गरेलगत्तै अमेरिकी ड्रोन तैनाथ गरिएको उनको भनाइ छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादी संगठनविरुद्ध ड्रोन आक्रमण गर्ने अधिकार दिएका छन् । विगतमा बाराक ओबामाको सरकारले ड्रोन आक्रमणको अधिकार रक्षा विभागलाई मात्र दिएका थिए । सिआइएले गुप्तचरी सूचना संग्रह गर्न मात्र ड्रोन प्रयोग गर्ने गरेको थियो । सिआइएलाई ड्रोन आक्रमण गर्ने अधिकार दिने ट्रम्पको निर्णयपछि अमेरिकी सरकार थप आक्रामक हुने अनुमान गरिएको छ ।