लहना चौथौं वर्षमा

566

काठमाडौं
नेपाल भाषाको साप्ताहिक लहना तीन वर्ष पुरा भई चौथों वर्ष प्रवेश गरेको अवसरमा विविध पत्रकारिता पुरस्कार प्रदान गरियो ।
राजधानीमा आयोजित एक समारोहकाबीच १० हजार रुपैयाँ नगद राशि रहेको लहना– धर्म मोति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक राजु शाक्य, १० हजार रुपैयाँ नगद राशि रहेको लहना– सुर सम्मान वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर र लहना – मोहिनी पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई प्रदान गरियो । सो पुरस्कारका दाताहरु क्रमशः उद्यमी लक्ष्मण गमाल, सुरबहादुर श्रेष्ठ र मोहिनी श्रेष्ठ हुनुहुन्छ ।
त्यसैगरी लहना पञ्चवीर सिहं पुरस्कार प्रो माणिकलाल श्रेष्ठलाई प्रदान गरियो । पञ्चवीरसिहं तुलाधरद्वारा स्थापित सो पुरस्कारको नगद राशि रु २० हजार २ सय २२ रहेको छ ।
सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले जातीय समानता र सामाजिक न्यायको संघर्षमा सबैभन्दा बाधक भनेको पिछडिएका वर्ग र समुदायमा व्याप्त रहेको दास मनोवृति रहेको धारणा राख्नुभयो । जातीय अधिकार, भार्षिक समानता र सांस्कृतिक अधिकार प्राप्तिको लडाईमा लागि सबैभन्दा ठूलो हतियार भनेको जातीय गौरव र स्वाभिमान रहेको उल्लेख गर्दै स्वाभिमान रहेसम्म कसैले कसैलाई पनि सहजतापूर्वक दमन गर्न नसकिने बताउँदै जनकवि श्रेष्ठले स्वाभिमानी बन्न आग्रह गर्नुभयो ।
सो अवसरमा लहना साप्ताहिकका प्रकाशक नृपेन्द्रलाल श्रेष्ठ, सम्पादक जुजुमान महर्जन र व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले मातृभाषाको पत्रकारिता विकास र विस्तारको गर्ने उद्देश्य लहना साप्ताहिकले लिएको बताउँदै मातृभाषाको पत्रकारिता व्यावसायिक बनाउनुपर्ने खाँचो रहेकोमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो । कार्यक्रमपछि विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।