लालपूर्जा विहिन ललितपुर वासी

514

ललितपुर – भुकम्पपछि सरकारले लालपूर्जा वितरण गर्ने घोषणा गरे पनि ललितपुर महानगरपालिकाका अधिकांश भुकम्प पीडित लालपूर्जा बिहिन छन् । बुङमती, खोकनालगायत हरिसिद्धि, सुनाकोठी र धापाखेलका अधिकांश भूकम्पपीडित स्थानीयबासी लालपुर्जा नभएकै कारण पहिलो किस्ता पाउनबाट बञ्चित छन् ।
प्रायस् खेती किसानी गर्ने उनीहरू लालपुर्जा नभएकै कारण घर बनाउन नपाएर टहरामा बस्न बाध्य छन् ।

बुङमतीका अनिल तुलाधर पहिलोपटक स्थानीय निकायको निर्वाचनमा मत खसाल्दैछन् । उनी भन्छन्, ‘पुननिर्माण भन्दा पुनर्बास गराउनेलाई भोट दिनेछु ।’ ‘हाम्रो समस्या बुझ्ने राम्रो छवि भएका युवा उम्मेदवारलाई भोट हाल्ने विचारमा छु,’ उनले भने, ‘गाउँमा हुने बहसमा भागसमेत लिने गरेको छु ।’ खोकनाका रविन्द्र महर्जन भन्छन्, ‘यसपालि घरबासको टुंगो लगाइदिनेलाई भोट दिने विचारमा छु ।’ उनले झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा दलीय हिसाबमा भन्दा पनि आफूहरूको समस्या समाधान गर्ने सक्ने राम्रा छवि भएका व्यक्तिलाई चुन्ने योजना रहेको बताए । ‘संसदीय चुनावमा पार्टी हेरेर भोट हालें,’ उनले भने, ‘हामीलाई पुनर्बास गर्न सहयोग गर्ने विकास प्रेमीलाई जिताउँछौं ।’ खोकनाका धनबहादुर महर्जनले ४ वटा चुनावमा मतदान गरिसकेका छन् । प्रत्येकपटकको चुनावमा नेताहरूले लालपुर्जा दिलाउने आश्वास दिए पनि नपाएको गुनासो गर्दै उनले यसपटक आफू भोट दिन सचेत भएको बताए । ‘सधै अरुको लहैलहैमा भोट हालियो,’ उनले भने, ‘जसको परिणाम अहिले भोगिरहेका छौ ।’