मधेसी मोर्चाका ५ दलबीच एकीकरण तयारी

348

नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच दलीय एकीकरण हुने भएको छ। बुधबार मध्यरातसम्म भएको छलफलपछि मोर्चाआबद्ध पाँच दलबीच एकीकरण हुने निधो भएको बताइएको छ। पाँचै दलका शिर्ष नेताहरुबीच पार्टी एकता, नयाँ पार्टीको नाम र नेतृत्व प्रणालीबारे सहमति जुटेको मोर्चाका एक नेताले बताए।

मोर्चाले आफूहरुको माग सत्ता पक्षले वेवास्ता गरेको भन्दै आसन्न स्थानीय तहको चुनाव बहिष्कार एवं आन्दोलन घोषणा गरिसकेकाे छ।

सोही अनुसार, आज बिहीबार एकीकृत दलको स्थापना घोषणा गरिने जानकारी मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले दिए। एकतापछि तराई, मधेसमा आफ्नो शक्ति थप विस्तार हुने मोर्चाका नेताहरुको विश्लेषण छ।

स्रोतका अनुसार, महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी, महेन्द्र राय यादवको नेतृत्वमा रहेको तराई मधेश सदभावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक मिसिएर नयाँ पार्टी बनाउने सहमति भएको छ। एकीकरणपछि नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी रहनेछ।

एकीकृत पार्टीमा सबै दलका नेताले अध्यक्ष मण्डलमा बराबर हैसियत राख्नेगरी सामुहिक नेतृत्व प्रणाली अपनाउने सोच भएको यादवले बताए। अहिलेलाई तमलोपा अध्यक्ष महन्थ ठाकुरले नयाँ दलको नेतृत्व गर्नेछन्।

साथै, अनिलकुमार झा नेतृत्वको सदभावना पार्टीलाई पनि एकीकरण प्रक्रियामा सहभागी गराउने विषयमा छलफल भइरहेको मोर्चाका एक नेताले बताए।
नयाँ शक्ति पार्टीसित एकीकृत हुने चर्चासँगै मोर्चाको अर्को घटक संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा छैन।