मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस कागबेनीमा दुर्घटनामा पर्दा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको तीर्थयात्री सवार नाम ५ ख ६०६७ नम्बरको बस मुस्ताङको कागवेनीमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३५ कोटेश्वरका भोला अधिकारी, कामनपा–३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल, कागेश्वरी नगरपालिका ३ थानकोटकी ७० वर्षीया शान्ति खड्का, भक्तपुर चाँगुनारायण ८ की सीता तिमिल्सेना र महालक्ष्मी नगरपालिका–२ ललितपुरकी ५५ वर्षीया लिला खड्का रहेका छन् ।
दुर्घटनाम २० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट पोखरास्थित मनिपाल शिक्षण अस्पताल पुर्याइएको छ । यस्तै अन्यलाई काठमाडौं ल्याउने तयारी भइरकेको प्रहरीले जनाएको छ ।