अफगानिस्तानमा तालिवानको भीषण हमला : १४० सैनिकको मृत्यु, दर्जनौँ घाइते

443

तालिवान लडाकुले अफगानिस्तानको उत्तरी सहर मजारको एउटा सैनिक पोस्टमा आक्रमण गर्दा १ सय ४० भन्दा बढी सैनिकको मृत्यु भएको छ । सेनाको पोसाकमा आएका लडाकुले शुक्रबार साप्ताहिक प्रार्थना गरेर फर्केका सेनामाथि हमला गर्दा ठूलो संख्यामा अफगान सैनिकको मृत्यु भएको हो । उत्तरी बाल्ख प्रान्तमा भएको सोे हमलापछि तालिवान लडाकु र अफगान सेनाबीच केही घन्टा दोहोरो गोली हानाहान भएको थियो ।

आक्रमणको तालिवानले जिम्मा लिएको छ । लडाकुले सेनाको चेकपोस्टमा पुगेर अन्धाधुन्द गोली हानेका थिए । लडाकुले चमेनागृहमा नास्ता गरिरहेका सैनिकलाई पनि निशाना बनाएका थिए । आक्रमणमा दजनौँ घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

भीषण हमला
सो हमलालाई तालिवान लडाकुले सेनामाथि गरेको भीषण आक्रमण बताइएको छ । आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्ने मजार–ए–सरिफका एक अधिकारीले बताए । तालिवानले अफगान सेनामाथि ठूलो हमला गरेको अमेरिकी सेनाका प्रवक्ता जोन थोमसले बताएका छन् । तर, हिंसा अन्त्य गर्न अफगान कमान्डो सफल भएको उनले दाबी गरेका छन् । नेटोले नेतृत्व गरेको सैन्य गठबन्धनले सो आधारमा सल्लाहकार परिचालन गरेको छ । हमलामा कुनै विदेशी सेना संलग्न नभएको अधिकारीले बताएका छन् ।

‘बदलापूर्ण आक्रमण’
सो हमलामा कम्तीमा १० जना तालिवान लडाकुको मृत्यु भएको छ । आक्रमणमा एकजना आक्रमणकारी पक्राउ परेका छन् । आक्रमणकारीले राइफल र ग्रिनेड प्रयोग गरेका थिए । त्यसबाहेक एकजना आक्रमणकारीले आत्मघाती विस्फोट गराएका थिए । उत्तरी अफगानिस्तानमा आफ्ना सातजना वरिष्ठ नेताको मारेको बदलामा सो हमला गराएको तालिवानका प्रवक्ता जविहुल्लह मुजहिदले बताए । मजार ए सरिफमा रहेको सैन्य अखडा अफगान राष्टिय सेनाको २०९आैँ पल्टन बस्ने गरेको छ । सो पल्टनले कुन्दुज प्रान्तसहित उत्तर अफगानस्तानमा सुरक्षा प्रदान गर्छ । सो क्षेत्रमा जर्मन र अन्य देशका सिपाही पनि खटिएका छन् ।

मोदीले गरे निन्दा
प्रधानमन्त्री नरेन्द्र मोदीले सो हमलाको निन्दा गरेका छन् । ‘मजार–ए–सरिफमा भएको काँतर हमलाको निन्दा गर्छु,’ मोदीले ट्विट सन्देशमा भनेका छन् ।‘आक्रमणमा मारिने सैनिकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामनासमेत उनले गरेका छन् । भारतले सबै प्रकारका अतिवादी हमलाको निन्दा गर्ने पनि उनले बताएका छन् ।

बारम्बार हमला
सशस्त्र युद्धको बाटो रोजेको तालिवानले अफगानिस्तानमा बारम्बार सेनामाथि हमला गरेको छ । गत महिना काबुलस्थित एउटा सेनाको अस्पतालमा अतिवादी मुस्लिम समूह स्लामिक स्टेट (आइएस)ले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको थियो । बन्दुक, ग्रिनेड र चक्कु बोकेका लडाकुले अस्पतालका बिरामी र कर्मचारीलाई आक्रमण गरेका थिए । तालिवानले गत मार्चमा अफगानिस्तानको दक्षिणी जिल्लालाई नियन्त्रणमा लिएका थिए । पश्चिमीले मुलुकको समर्थन पाएको अफगान सरकारलाई तालिवान लडाकु र अन्य सशस्त्र समूहले लामो समयदेखि सुरक्षा चुनौती दिएका छन् ।