भेनेजुएलामा सरकारविरोधी प्रदर्शन, १५ को मृत्यु

383

भेनेजुएलामा सरकारविरोधी प्रदर्शन झन् चर्किएको छ । गत अप्रिल १९ देखि सुरु भएको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म १५ प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । बिहीबार र शुक्रबारको प्रदर्शनमा मात्र राजधानी काराकासमा ११ आन्दोलनकारीको मृत्यु भएको छ । अर्का एक प्रदर्शनकारीको मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको छ । गत साता दुई विद्यार्थीसहित तीनजना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

आन्दोलनमा भएका झडपमा अहिलेसम्म ६८ जना घाइते भएको अधिकारीले बताएका छन् । प्रदर्शनकारीको मृत्युबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय छानविन टोली गठन गरेको छ ।

राष्ट्रपति निकोलस मदुरोले मुलुकलाई आर्थिक र राजनीतिक संकटमा फसाएको आरोप लगाउँदै उनीविरुद्ध विपक्षीले तीव्र प्रदर्शन गरिरहेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायले जनआन्दोलनमा अनावश्यक रूपमा प्रहरी बल प्रयोग भएको आरोप लगाएका छन् । अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, मेक्सिको, उरुग्वे, पाराग्वे र पेरुसहित ल्याटिन अमेरिकी मुलुकले सरकारले हिंसात्मक दमन गरेको आरोप लगाउँदै निन्दा गरेका छन् । ठूला व्यापारिक घरानाले खुलेरै सरकारविरोधी प्रदर्शनको समर्थन गरेका छन् । त्यस्तै, मोबाइल फोन सञ्चालक कम्पनी टेलिफोनिकाले हरेक दुईदुई घण्टामा दसौँ लाख मोबाइल सन्देश पठाई सरकारविरोधी प्रदर्शन तीव्र पार्न आग्रह गरेको छ । यसैबीच, उपराष्ट्रपति तारेक इल एैसामीले सरकार र प्रदर्शनकारीबीच वार्ताको तयारी भएको बताए ।

सिरियामा मानवीय सहयोगमा कमी : राष्ट्रसंघ

लेबनान/सिरियामा मानवीय सहयोगमा कमी आएको छ । सयुक्त राष्ट्रसंघका सिरियाका लागि मानवीय सहयोगसम्बन्धी प्रमुख सल्लाहकार जेन एगलान्डले सिरियामा मानवीय सहयोगमा कमी आएको बताएका हुन् । ‘सरकार तथा विद्रोहीको घेराबन्दीमा रहेका केही सिरियालीको उद्धार गरिए पनि आमसिरियाली अत्यन्तै पीडामा जीवन बिताउन बाध्य छन्,’ बिहीबार जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै एगलान्डले भने ।

मानवीय सहायताका लागि पुगेका अधिकारीहरूका अनुसार यस वर्ष जम्मा पाँच लाख ६४ हजार पीडितले मानवीय सहायता प्राप्त गरेका छन् । भोकमरी र द्वन्द्वका कारण सिरियामा विस्थापितको संख्या बढेको एगलान्डले बताए