लोकतन्त्रको रक्षाका लागि स्थानीय निर्वाचनमा नेपाली कांग्रेस जिताउन आग्रह

444

नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले लोकतन्त्रको रक्षाका लागि स्थानीय निर्वाचनमा नेपाली कांग्रेस जिताउन आग्रह गर्नुभएको छ । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समिति भक्तपुरले सोमवार आयोजित बृहत भेला तथा बैठकमा सभापति थापाले मुलुकका अग्रगामी परिवर्तनहरु कांग्रेसको नेतृत्वमा सफल भएको स्मरण गराउँदै लोकतन्त्रको स्थायित्व र संविधान कार्यान्वयनको नेतृत्वको लागि कांग्रेसको जित आवश्यक भएको बताउनुभएको हो ।
कांग्रेसले जनता माझ गरेका वाचा सबै पुरा गरेको दावी गर्दै सभापति थापाले स्थानीय तहमा कांग्रेसले जितेको खण्डमा कांग्रेसले मुलुकलाई समृद्धितर्फ डो¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कांग्रेसले गरेका कामको प्रचार प्रसार गर्न नसक्नुलाई कांग्रेसको कमजोरीका रुपमा नलिन आग्रह गर्दै ठूला ठूला गफ हाँक्दैमा जनताले विश्वास नगर्ने बताउनुभयो ।
सभासद रामेश्वरप्रसाद ढुंगेलले नेपाली कांग्रेसले विकासका धेरै काम गरेको र आफ्नो सांसद कोषको रकमबाट गरेका विकास निर्माण समेत विपक्षी दलहरुले आफैंले गरेको भन्दै अफवाह फैलाउँदै हिँडेको पाईएको बताउँदै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा निर्वतमान सभापति गणेशमान चक्रधरले कांग्रेसको पक्षमा उर्लिएको जनलहर देखेर विपक्षीहरु आत्तिन थालेको बताउँदै काम धेरै गर्ने तर प्रचार कम गर्ने हाम्रो बानीलाई सुधार गर्नुपर्ने खाँचो औंल्याउनुभयो । स्थानीय निर्वाचनमा कसैलाई हिलो छ्याप्ने काम नगरी एक ढिक्का भएर उच्च मनोबलका साथ चुनावी मैदान जान कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सचिव उद्धव सिलवाल जिल्लाको घोषणापत्र तयारी भईरहेको जानकारी दिँदै विभिन्न सामाजिक तथा पेशागत संघ संस्थाहरुको सुझावको आधारमा घोषणापत्र निर्माण गर्ने तयारी भईरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा स्वागत गर्दै प्रचार प्रसार समितिका सदस्य एवम् नेपाली कांग्रेसका जिल्ला सदस्य निशान ढुंगेलले स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारलाई व्यस्थित र मर्यादित बनाउँदै नेपाली कांग्रेसको पक्षमा जनमत सृजना गर्न प्रचार प्रसार समिति सक्रिय रहेको बताउनुभयो । उहाँले पार्टीले उम्मेदवार तय गरेपछि उम्मेदवारसहित लिएर चुनावी मैदानमा जाने र उम्मेदवार चयन नभएको अवस्थामा पार्टीको पक्षमा आम मतदाताहरुसँग पुग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय सभापतिद्धय जीवन खत्री, नारायणभक्त खायमली र नेपाल महिला संघका जिल्ला सभापति सरु बानियाँले प्रचार प्रसार कार्यलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिनुभएको थियो । प्रचार प्रसार समिति संयोजक केदार खड्काले निर्वाचन आयोगको आचार संहितापूर्ण पालना गर्दै प्रचार प्रचार कार्यलाई तिव्रता दिने बताउनुभयो । कार्यक्रम समितिका सचिव किरण न्यौपानले संचालन गर्नुभएको थियो ।