राप्रपा घोषणापत्र तयार, नेपाल बन्द कहिल्यै नगर्ने प्रतिवद्धता

452

काठमाडौं । व्यवस्थापिका–संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदृढ स्थानीय सरकारको माध्यमबाट जनताको विकासप्रतिको आकांक्षालाई पुरा गर्ने योजनासहित चुनावी घोषणापत्र ल्याउने भएको छ ।

राप्रपाले बुधबार ललितपुरको हिमालय होटलमा विशेष कार्यक्रम गरी चुनावी घोषणापत्रलाई सार्वजनिक गर्ने तयारीमा लागेको छ ।
राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको धरातलमा सबल र सम्मृद्ध नेपाल निर्माण गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानीय सरकार आत्मनिर्भर र स्वायत्त हुनुपर्नेमा जोड दिएको छ ।

तराईका प्रमुख शहरहरुमा चुनावी सभागरी स्थानीय तहका नेता कार्यकर्ता र मतदातासँग प्रत्यक्ष छलफल गरेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री  तथा पार्टी अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेको राप्रपाले जनाएको छ ।

स्वायत्त शासन प्रणालीमार्फत् स्थानिय जनताका संविधान प्रदत्त अधिकारहरुलाई पूर्ण रुपमा उपभोग गर्न सक्नेगरी सक्षम बनाई प्रत्येक परिवारका आधारभूत आवश्यकता पुरा गर्नसक्ने प्रारुप घोषणापत्र मार्फत सार्वजनिक हुने पार्टी प्रवक्ता रोशन कार्कीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य र माध्यमिक तहसम्मको पढाइ निशुल्क गर्दै सरकारी बिद्यालयको गुणस्तरमा बृद्धिमा जोड दिँदै राप्रपाले प्रत्येक गाउँपालिका र  नगरपालिकाबाट डाक्टर र इन्जिनियरलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ ।

राप्रपाले प्रत्येक घरमा खानेपानी र बिजुली, प्रत्येक वडामा मोटरबाटो पुर्याई यातायात  र संचारको विकास गरी स्थानिय साना जलबिद्युतमार्फत उज्यालो गाउँ  र योजनावद्ध शहरी विकासमा जोड दिएको छ ।

नेपाल बन्द जस्ता कार्यक्रम आयोजना नगर्ने  प्रतिवद्धता जनाउँदै राप्रपाले  स्वायत्त शासन अन्तरगत स्थानीय पुँजी परिचालन गरी रोजगारी उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्ने लक्ष्य राखेको छ । स्वरोजगारलाइ प्रोत्साहन, कृषिको व्यवसायिकरण गर्दै स्थानिय उत्पादनलाई जोड दिई एक परिवार एक रोजगारीका मााध्यमबाट बेरोजगारी समस्या समाधान गर्ने राप्रपाको लक्ष्य रहेको छ ।

२५ जना भन्दा बढि व्यक्तिलाइ रोजगारी दिने उद्योग व्यवसायलाइ १० बर्षसम्म स्थानिय कर मिनाह गरी सहुलियतमा बिजुली पानी र मोटरबाटो पु¥याउने राप्रपाको संकल्प रहेको छ ।
भोजन, आवास, स्वास्थ, शिक्षा र रोजगारी जस्ता पाँच÷ पाँच प्राथमिकता तय गरेको राप्रपाले गरिबी निवारण संकल्प अनुसार प्रत्येक परिवारको आर्थिक सर्वेक्षण गरी सबैभन्दा कमजोर परिवारबाट आर्थिक अवस्था सुधार कार्ययोजना कार्यान्वयन गने बताएको छ ।

राप्रपाले जनयुद्ध र संक्रमणकाल, १२ बुदे सम्झौता त्यसयताको राजनीतिक मार्गचित्रप्रति असन्तुष्टि राख्दै देशभित्र बढेको अस्वभाविक बाह्य शक्तिहरुको चलखेलले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाएको निष्कर्ष  निकालेको छ ।

प्रमुख राजनीतिक दलहरुमा दिशाहिनता र सैद्धान्तिक विचलन आएको निष्कर्ष निकाल्दै राप्रपाले विकल्पमा अलग पहिचान र सुस्पष्ट बिचारसहित एकिकरण भएको राप्रपा मुलुकको भरोसा योग्य पार्टी बनेको दावी गरेको छ ।