कोटेश्वर–जडिबुटीको जाम हटाउन सडक बिस्तारको काम शुरू, १२ करोड खर्च लाग्ने !

115

काठमाडौं । कोटेश्वर–जडिबुटीमा अत्यधिक जामको समस्या समाधान गर्नका लागि ४ लेनको सडक बिस्तार गरी ८ लेन बनाउनका लागि काम शुरू गरिएको छ ।

सोमबार भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङले सोमबारदेखि काम शुरू भइसकेको जानकारी दिए ।
उनका अनुसार उक्त सडक खण्डमा कोटेश्वरबाट जडिबुटी जाँदा दायाँपट्टी एकतर्फ सडक बिस्तार गरिने छ । हाल नेपाली सेनाले तारबार गरेको जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको र एकसाताभित्रै टेण्डर पनि हुने उनले जानकारी दिए ।

‘विमानस्थलको जग्गा र एकजना व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ, अहिले डोजर चलाउन शुरू गरिएको छ । निर्माणका लागि एक साताभित्रमा टेण्डर समेत आह्वान गर्छौं,’ मन्त्री नेम्वाङले भने ।

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको ७ रोपनी जग्गा र एक जना व्यक्तिको नाममा रहेको एक आना जग्गा अधिग्रहण भइसकेको छ । नेम्वाङका अनुसार उक्त सडक खण्डमा चार लेन थप गर्नका लागि १२ करोड रुपैयाँ खर्च लाग्नेछ ।
सडक लेन बिस्तार गर्नका लागि विमानस्थलको रनवे सूचक लाइट पनि केही पर सारिएको छ ।
उक्त सडक खण्डमा भइरहेको जाम कम गर्नका लागि सरकारले तीनकुनेदेखि जडिबुटीसम्म सुरुङ बनाउने काम अगाडि बढाइसकेको छ । सुरुङ निर्माणको अध्ययन गरिरहेको र जाइकासंग छलफल गरी सडक ८ लेन बनाउने काम अगाडि बढाइएको हो ।
‘सुरुङ निर्माणको काम सकिन अझै ३ वर्षसम्म लाग्न सक्छ, त्योभन्दा अगाडि अल्पकालीन समस्या समाधानका लागि सडक बिस्तारको काम अगाडि बढाएका हौं,’ उनले भने ।
उनका अनुसार असोज र कात्तिकसम्म सबै प्रक्रिया पूरा गरेर चैतसम्म सबै काम सक्ने गरी काम अगाडि बढाइएको छ ।