कांग्रेसका दोस्रो संविधान सभा निर्वाचनका प्रत्यासी स्थानीय तहमा उम्मेद्वार बन्न नपाउने !

377

दोस्रो संविधान सभा निर्वाचनका नेपाली कांग्रेसका प्रत्यासी अब हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न नपाउने भएका छन्।

कांग्रेसका कतिपय सांसद, जिल्ला तथा क्षेत्रीय सभापतिहरुले वैशाख ३१ र जेठ ३१ गते हुने निर्वाचनमा उम्मेद्वारीको अपेक्षा गर्दै नेतृत्वलाई दवाव दिइरहेपनि कांग्रेसको यसअघिको निर्णयका कारण उम्मेद्वार बन्न नपाउने स्थिति देखिएको हो।
कांग्रेस केन्द्रीय समितिको तीन वर्ष पुरानो निर्णयका कारण दोस्रो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा उम्मेद्वार बनेका व्यक्तिहरु स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न नपाउने भएका हुन्।

संविधानसभा निर्वाचनका लागि उम्मेद्वार छनौट पूर्व २०७० भदौ ७ गतेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेद्वार बनेकालाई त्यसपछि हुने स्थानीय निकाय तथा संघीय प्रदेश अन्तर्गतको निर्वाचनमा उम्मेद्वार नबनाउने निर्णय गरेको थियो।

त्यसलगत्तै ०७० भदौ ८ गते सोही निर्णयका आधारमा कांग्रेसका तत्कालिन महामन्त्री कृष्ण प्रसाद सिट‌ौलाले उक्त निर्णयसहितको परिपत्र सबै जिल्ला सभापतिहरुलाई गरेका थिए। कांग्रेसको उक्त निर्णय कार्यान्वयन भएमा दोस्रो संविधानसभामा उम्मेद्वार बनेका ५ सय ७५ जना व्यक्तिहरु स्थानीय तह अन्तर्गत महानगर, उपमहानगर, नगर र गाउँपालिकामा उम्मेद्वार बन्न पाउने छैनन्।