लामाटारमा भेटिएको मानव कंकाल कस्को ?

पहिचान खोज्दै सातदोबाटो प्रहरी

93

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारकोे पात्ले सामुदायिक वनमा फेला परेको मानव कंकाल (अस्थिपञ्जर) कस्को रहेछ भनेर पत्ता लगाउन प्रहरी वृत्त सातदोबाटोलाई हम्मे परेको छ ।
चैत १ गते विहान सो सामुदायीक वनमा घाँस काट्न गएका स्थानिय वासिन्दाले जंगलको वीचमा मानव कंकाल देखेपछि प्रहरी प्रभाग लुभुमा खवर गरेका थिए । खवर पाए लगत्तै प्रभागका प्रहरी वरिष्ठ नायव निरीक्षक सुरेन्द्र बहादुर टेरको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
घटनास्थलमा पुगेको टोलीले प्रहरी वृत्त सातदोबाटोलाई खवर गरेपछि गएको वीज्ञ प्रहरी अधिकृतको अनुसन्धान टोलीले नाम थर, वतन, लिंग नछुटिट्एको खरानी रंगको हुक (टोपी सहितको लुगा) र खरानी रंगको हाफ पाइन्ट लगाएको मृत व्यक्तिको कंकाल (अस्थिपञ्जर) फेला पारेको थियो ।
फेला पारेको सो मानव कंकाल प्रहरीले घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान सकेर पोष्टमार्टमको लागि पाटन अस्पताल पठाएको थियो ।
सो मानव कंकाल पाटन अस्पतालको शव गृहमा राखिएको छ भने त्यसबारे थप जानकारी लिन आवश्यक परिक्षणको लागि सोही अस्पतालकै फरेन्सिक विभागसंग समन्वय गरिएको प्रहरी वृत्त सातदोवाटोका प्रमुख, डिएसपि उमेश जोशीले बताए । कंकालको डिएनए सहितको परिक्षण गर्न, सो कंकाल कस्को हो र कहिले मृत्यु या हत्या भएको तथ्य फरेन्सिक रिपोर्ट आएपछि पत्ता लाग्ने पनि डिएसपि जोशीले बताए ।
जंगलको वीचमा फेला परेको अस्थिपञ्जरमाथि नीजले मर्नुअघि लगाएको कपडा बाहेक अरु केही पहिचान खुल्ने परिचयपत्र या कागजात नभेटिएकोले सनाखत गर्न कठिन भएकोले करीव एकवर्ष अघिदेखि हराएर प्रहरीमा निवेदन दिएका व्यक्तिहरुसंग दाँज्ने काम शुरु भएको पनि प्रहरीले जनाएको छ ।
एकवर्ष अघिदेखि आफ्ना आफन्त हराएको भए सम्वन्धितहरुले मानव कंकाल पहिचानको लागि प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।