ताथलीको विकासका लागि प्रतिवद्ध छ नेमकिपा

1466

ताथली : नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका ताथलीका उम्मेदवारहरुले ताथलीको समग्र विकासका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरको चाँगुनारायण नपा वडा नं. ९ मा चुनाव प्रचारप्रसार अन्तर्गत ताथलीका विभिन्न ठाउँमा घरदैलो गर्दै मतदातासँग भेटको क्रममा वडा नं. ९ का वडाअध्यक्षका उम्मेदवार गणेश त्यात, वडासदस्यहरु क्रमशः विद्यापति थापा, कृष्णराम बासुकला, कमला गिरी र दलित महिला सदस्य सुमित्रा दर्जीले आफूहरु नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारप्रति अडिग बनेर जनताको विनास्वार्थ सेवा गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।
घरदैलोको क्रममा मतदाताहरुसँग भलाकुसारीका साथै मादल चिह्नमा छाप लगाउन अनुरोध गर्दै उम्मेदवारहरुले ठूला दलको आश्वासनमा पर्न नहुनेमा जोड दिए । साविकको ताथली गाविसको वडा नं. ८ का पूर्व वडाध्यक्षको समेत अनुभव लिइसकेका वडाध्यक्षका उम्मेदवार गणेश त्यातले ताथलीलाई जिल्लाभर चिनाउनका लागि नेपाल मजदुर किसान पार्टीको भूमिका प्रमुख रहेको र ताथलीको विकासमा नेमकिपाले पु¥याएको योगदान अतुलनीय भएको बताए ।‘नेमकिपाका तर्फबाट गाविस अध्यक्ष बन्नुभएका स्व.जयराम बासुकलाकै नेतृत्वमा ताथलीमा विकासको विजारोपण भएको हो, हामी सोही विकासको विरुवा हुर्काउन प्रतिवद्ध छौं, मतदाताको अमूल्य मतको हामी कदर गर्नेछौं ।’ उम्मेदवार त्यातले भने ।
सोही क्रममा वडा सदस्यका उम्मेदवार कमला गिरी, विद्यापति थापा र कृष्णराम बासुकलाले ताथलीमा विद्यमान समस्याहरुबाट आफू परिचित भएकोले ती समस्या समाधान गर्न आफूहरुसँग् योजना रहेको बताए । उम्मेदवारहरुले पार्टीले प्रकाशन गरेको घोषणापत्र र घोषणापत्रको अध्ययन गरेर मत दिएको खण्डमा आफ्नो मतको सदुपयोग हुने बताउँदै कोहीको लोभ, लालच, दबाब र प्रभावमा परेर मतदान गरेको खण्डमा भविष्यमा पछुताउनुपर्ने बताए ।
घरदैलोमा सहभागी भएका पार्टीका कार्यकर्ता, शुभचिन्तक तथा मतदाताहरुको बृहत सहभागितामा भएको सो घरदैलोमा सहभागीहरुलाई ताथलीका विभिन्न वस्तीका मतदाताहरुले भव्य स्वागत गरेका थिए ।