जितपुरे कार्कीको पहिलो कविता संग्रह विमोचन

193

भक्तपुर । कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कवितासंग्रह ‘आज सबैको खाँचो छ’ विमोचन गरिएको छ ।

कार्कीको पहिलो कवितासंग्रहको विमोचन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष श्याम श्रेष्ठ, महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नंं ८ का पूर्व वडा अध्यक्ष पराशर सापकोटाले संयुक्त रुपमा विमोचन गरे ।

वि.सं. २०१३ साल असार १३ गते सुडालको जितपुरमा जन्मिएका कवि कार्की लामो समयसम्म शिक्षण पेशामा आवद्ध थिए । पेशाबाट अवकाशपछि आफूले विभिन्न समयमा फुटकर रुपमा लेखेका कविताहरुलाई एकत्रित गरी संग्रह प्रकाशन गरेको लेखक कार्कीले बताए ।

उनले आफूले विगत ४ दशकदेखि लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका कविताहरुको संगालो प्रकाशन गरेको जनाए । सञ्चारकर्मी एवम् साहित्यकार हरिसुन्दर छुकांको सम्पादनमा प्रकाशित सो कवितासंग्रहमा कवि कार्कीको सो संग्रहमा ५६ वटा कविता संग्रहित गरिएका छन् ।
संग्रहमा समावेश कविता वाचन गर्दै उनले सबै क्षेत्रमा अभावै अभावको अवस्था हुँदा समाजमा विभिन्न समस्या देखिएकोमा चिन्ता जनाउँदै सोही विषयलाई समयमै खबरदारी गर्न ‘आज सबैको खाँचो छ’ प्रकाशन गरेको बताए ।

संग्रह विमोचन कार्यक्रममा नगरप्रमखु खत्रीले कवि कार्कीका कविताहरु सान्दर्भिक हुनुका साथ समाजको ऐनाको रुपमा आएको चर्चा गरे । उनले उनका कविताहरुले सामाजिक, शैक्षिक, वातावरणीय क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रका लागि सचेत गराउने प्रकृतिका रहेको बताए ।

‘उहाँका कविताहरु समाजलाई सचेत गराउने खालका छन्, यसले समाजका सबै वर्ग र क्षेत्रलाई पथप्रदर्शनको विम्ब बोकेको छ’, उनले भने, ‘साहित्यमार्फत् समाज रुपान्तरण गर्न सकिन्छ, साहित्य समृद्धिको प्रतीक हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।’