हात नभएको योसिङ द्यः ठड्याइयो

46
फाइल फोटो

भक्तपुर । आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन भक्तपुर नगरपालिका वडा नं ४ पोटेरी स्क्वायरमा हात नभएको ज्याठा गणेशको योसिङ द्यः (लिंगो) ठड्याइएको छ। स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा करिब ५० हात लामो उक्त योसिङ द्यः ठड्याइएको हो।

यो योसिङ द्यः ठड्याउन र ढाल्न माटोको भाँडा बनाउने प्रजापतिहरुमात्र सम्मिलित हुने प्रचलन छ। त्यसैले यस जात्रामा हात भएको ५५ हात भएको योसिङ द्यः जात्रामा जस्तो जात्रालुको उपस्थिति हुँदैन।

पछिल्लो समय उक्त योसिङ द्यः ठड्याउने जात्रामा अन्य समुदायको पनि सक्रिय सहभागिता बढेको छ। प्रजापतिहरुमात्रै सम्मिलित हुने समयमा उक्त योसिङ द्यः ठड्याउन घरघरका झ्यालबाट डोरीले तान्ने गरिन्छ ।
सयौं जात्रालुले डोरी तानिरहँदा योसिङ द्यःमुनि बसेर कैचीको व्यवस्था गर्ने जात्रालुहरु पनि उत्तिकै थिए। उनीहरु कैचीको तल र माथि दुवैतिर डोरी बाँधेर योसिङ द्यः ठड्याउन सघाइरहेका थिए। एकातिरबाट मात्रै डोरीले तानिँदा योसिङ द्यः ठडिँदैन। कैचीको सहायताले तलतिरबाट माथितिर घचेटिँदा योसिङ द्यः चाँडै ठडिने गरेको छ ।
‘योसिङ द्यः ठड्याउने क्षेत्र साँघुरो भएकाले कैचीको सहायताले माथितिर ठेल्नै पर्छ’, कैचीको सहायताले योसिङ द्यः भाँचिन पनि पाउँदैन।’
संस्कृतिकर्मीहरुका अनुसार भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षणको रुपमा रहेको भनपा वडा नं ५ योसिंखेलमा मनाइने योसिङ द्यः जात्राभन्दा धेरै समयपछि ज्याठा गणेशको योसिङ द्यः जात्रा प्रचलनमा आएको छ ।

स्थानीय ज्याठा गणेश मन्दिर परिसरमा उक्त योसिङ द्यः ठड्याइने भएकाले यसलाई ज्याठा गणेशको योसिङ द्यः मानिने गरेको छ । योसिंखेलमा ठड्याइने योसिङ द्यःलाई भने भैरव एवं इन्द्र देवताको प्रतीक मानिन्छ। वर्षान्तको दिन बिहानै ठड्याइने यो ज्याठा गणेशको योसिङ द्यः बिस्का जात्राको अन्तिम दिन वैशाख ५ गते ढाल्ने परम्परा रहँदै आएको छ।