आफ्नो जमिन पर्ने भएपछि मध्यपुरका जनप्रतिनिधिले नै बाटो खोल्न दिएनन्

212

भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ मा जनप्रतिनिधिले नै बाटो खोल्न नदिएर अवरोध गरेका छन् ।

अघिल्लो कार्यकालमा नै पास भएको योजना कार्यान्वयनका क्रममा नेकपा एमालेका वडा सदस्यले आफ्नो जमिन र अस्थायी टहरा पर्ने भएपछि बाटो विस्तार गर्न अवरोध गरेका हुन् ।

मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ हेल्थपोष्टबाट घसी जाने बाटो स्तर उन्नतिका गर्न २०७८ असारमा टेन्डर आव्हान भएर चैतमा सम्झौता भएको थियो । छ मिटरको बाटो निर्माणका लागि भएको उक्त बजेट कार्यान्वयन तथा बाटो विस्तारको काम भने जनप्रतिनिधिका कारण नै अवरोध भएपछि यतिकै थाँती रहेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बाटो खोल्ने बाटो विस्तार गर्ने पक्षमा रहेका छन् भने एमालेबाट वडा सदस्य विजयी भएका श्याम कृष्ण प्रजापति भने बाटो विस्तार गर्न नदिने पक्षमा भएपछि विवाद भएको थियो ।

बाटो विस्तारका लागि आएको डोजरलाई रोकी उनले अपरेटरलाई समेत हात पात गरेका स्थानीयले बताए । एक्कासि नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरूको हुल हुज्जतले बाटो विस्तारको का रोकिएको थियो ।

बाटो विस्तार गर्न सहज भूमिका निर्वाह गर्नु पर्ने जनप्रतिनिधिले नै आफैले डोजर रोकेर अपरेटरलाई हात पात गरेपछि टोलमा हङ्गामा भएको थियो ।

बाटो खोलाउन विरोध गर्ने र नगरपालिका पक्षको छलफल जारी रहेको छ ।