१० महिनामा सात अर्ब २८ करोडको अलैँची र तीन अर्ब ३५ करोडको चिया निर्यात

42

काठमाडौं। मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ ।

चालु आर्थिक वर्षको दस महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो ।

गत वर्ष सो अवधिमा चार अर्ब २२ करोड १९ लाख ९७ हजार रुपैयाँ बराबरको ४६ लाख ७० हजार ३६३ किलो अलैँची निर्यात भएको थियो । चालु आर्थिक वर्षमा अलैँची दोब्बर परिमाणले निर्यात भएको विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८र७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि निर्यातमा समेत वृद्धि भएको हो ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ ।

नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले अलैँची निर्यातमा वृद्धि भएको जानकारी दिए ।

यसैबिच दस महिनाको अवधिमा चियाको निर्यात २१ प्रतिशतले बढेको छ । साउनदेखि वैशाखसम्म तीन अर्ब ३४ करोड ७४ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ४७ लाख ८४ हजार ५१६ किलो चिया निर्यात भएको तथ्याङ्क रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।