मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणसँगै सुशासनमा विशेष जोड – नगरप्रमुख श्रेष्ठ

26

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको विकास निर्माणसँग सँगै सुशासनलाई पनि विशेष जोड दिएको बताउनुभएको छ । निर्वाचित भएर पद बहाली भएको एक वर्ष पुरा भएको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख श्रेष्ठले एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै भौतिक पूर्वाधारको विकाससँगै ऐन नियम निर्माणमा जोड दिएको बताउनुभएको हो ।

उहाँले भौतिक पूर्वाधारतर्फ एक वर्षमा मन्दिर ९ वटा, फल्चा(पाटी) ११ वटा, बहा २ वटा, विभिन्न मन्दिर परिसर २१ वटा, पार्क ९ वटा, ऐतिहासिक दरबार २ वटा, बौद्ध बिहार १ वटा, पोखरी १ वटा, घाट १ वटा र गुम्बा १ वटा निर्माण भएको बताउनुभयो ।

त्यसै गरी सडक पूर्वाधारतर्फ कालोपत्रे २१ वटा, सडक ढलान २१ स्थानमा, रिटेनिङ वाल १९ स्थानमा, ढुङ्गा छपाई २८ स्थानमा, बल्क छपाई ११ स्थानमा कार्य भएको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले बाटो खोल्ने र फराकिलो १८ स्थानमा र एउटा पुल निर्माण भएको बताउनुभयो । त्यस्तै खानेपानी तर्फ ५ वटा योजना, ढल निकासतर्फ २८ वटा र भवन तथा ट्रस्ट निर्माण १८ वटा र अन्य मर्मत सम्भार २७ वटा योजना सञ्चालन भएको छ ।

उहाँले विगतमा नगरपालिका ऐन, नियम, कानुन, कार्यविधि विना सञ्चालन भइरहेको पाइएकोले नागरिकलाई असल सुशासनको अनुभूति दिलाउन र नगरपालिकालाई व्यवस्थित ढङ्गले पारदर्शीरुपमा सञ्चालन गर्न ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माणमा जोड दिएको बताउनुभयो ।

सुशासन कायम गर्न नगरपालिकाले नीतिगत रूपमा ७ वटा ऐन, ६ वटा कार्यविधि र भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी नियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९) सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षको अवधिमा स्वास्थ्य ऐन – २०७९, शिक्षा ऐन –२०७९, सहकारी ऐन, २०७९, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७९, नेपाल कोरिया मैत्री नगर अस्पताल आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९, मौलिक नाम अभिलेखीकरण तथा प्रतिस्थापन समिति सञ्चालन कार्यविधि–२०७९, अनुदान तथा औषधी उपचार कार्यविधि –२०७९, उपभोक्ता समिति मार्फत सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि, २०७९, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यविधि–२०७९, लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि, २०७९, भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी नियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९), न्यायिक समितिको कार्यविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९, आधारभूत सरसफाइ तथा फोहोर मैला व्यवस्थापन विधेयक २०७९, बस्ती विकास तथा जग्गा एकीकरण ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७९ कार्यान्वयनमा ल्याइएको छ ।

राजस्व परिचालनतर्फ सङ्घीय अनुदान समानीकरण रु. १८ करोड  १४ लाख २५ हजार, सशर्त चालु तर्फ रु १६ करोड २५  लाख  ७ हजार र सशर्त पुँजीगत तर्फ १२ लाख, र राजस्व बाँडफाँड रु. ११  करोड ९२  लाख ९३  हजार गरी जम्मा रु. ४६  करोड  ४४ लाख २५ हजार  र प्रदेश अनुदान तर्फ समानीकरण रु. २ करोड  ४३ लाख ८० हजार,  सशर्त चालु रु २ करोड २५ लाख ४० हजार . प्रदेश समपूरक रु, २ करोड १२ लाख  ९६ हजार तथा राजस्व बाँडफाँड रु. २ करोड ६१ लाख ८० हजार  गरी जम्मा रु. ९  करोड ४३  लाख ९६  हजार गरी जम्मा ५५  करोड ८८ लाख २१ हजार प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा आन्तरिक स्रोत तथा बैङ्क मौज्दात समेत जम्मा रु ६९ करोड १२  लाख ८५ हजार र स्थानीय राजस्व बाँडफाँडबाट रु  १७  लाख ८६  हजार गरी जम्मा रु ६९ करोड ३० लाख ७१ हजार आन्तरिक राजस्व सङ्कलन भएको साथै लागत सहभागिताबाट ८ लख २६ हजार रुपैंया प्राप्त भएको बताउनुभयो ।

यसै गरी चालु  खर्चतर्फ ३५ करोड ७८ लाख ९३ हजार खर्च ( ५४.६५ प्रतिशत) खर्च भएको बताउँदै पुँजीगत तर्फ २८ करोड १७ लाख  ७ हजार अर्थात् २५.३५ प्रतिशत खर्च भएको बताउनुभयो ।

उहाँले यस वर्ष चुनावी वर्ष भएको र मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेश सभाको निर्वाचनले गत पुस महिना देखी मात्र विकास निर्माणका काम अघि बढेकोले वैशाख मसान्तसम्म पुँजीगत खर्च कम देखिएको स्पष्ट पार्दै अहिले धेरै योजना सञ्चालनमा रहेकोले असार १५ सम्म पुँजीगत खर्च लक्ष्य अनुसार हुने अपेक्षा गर्नुभयो ।

उहाँले मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडकमा स्मार्ट लाइट जडानका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको जानकारी दिँदै जस अन्तर्गत अरनिको राजमार्गमा सडक बत्ती जडान भई बल्न थालेको बताउनुभयो ।

शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि शिक्षा ऐन अनुरूप मासिक शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क कायम राख्न संस्थागत विद्यालयलाई सूचित गरिए अनुरूप कार्यान्वयन भइरहेको र शुल्क तथा भर्ना अनुगमन समिति मार्फत अनुगमन भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

युवालाई खेल क्षेत्रमा आकर्षित गरी असल र अनुशासित नागरिक बनाउन खेल क्षेत्रको विकास बिस्तारमा जोड दिने नीति अनुरूप वडा व्यापी फुटबल लिग, राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्नुका साथै विभिन्न खेल सञ्चालन गर्न सहयोग गर्नु र खेलाडीहरूको प्रोत्साहन स्वरूप सम्मान गरिएको उहाँले बताउनुभयो ।

उहाँले स्वास्थ्यमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस सेवा सुरु गरिएको, सिटी स्क्यान मेसिन जडान गरिएको, अस्पतालको व्यवस्थापनमा सुधार गरिएको, नगरका सबै वडामा स्वास्थ्य सेवा बिस्तार गरिएको, नगरका ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको निःशुल्क बिमा गरिएको, नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराएको, ब्लड बैङ्क स्थापनाको तयारी गरिएको र अस्पतालको सेवा बिस्तारका लागि २०० शैयाको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत विद्यालयहरू मानव विद्या गृह, अभिभावक स्वावलम्बन समूह र दिवा सेवा केन्द्रलाई सीप विकास कार्यक्रम सञ्चालन खर्च, छात्रवृत्ति, स्यानी टरी प्याड र दिवा खाजा खर्च उपलब्ध गरिएको बताउँदै नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरको मूल नारा हाम्रो कला संस्कृति हाम्रो सम्पत्ति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने मूल नारालाई सार्थक बनाउन यस चालु आर्थिक वर्ष महाकाली नाच,भैरव नाच, निल वाराही गण नाच, नवदुर्गा गण नाच,इन्द्र अप्सरा नाच, विस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, गुँला पर्व, कृष्ण पूजा, रथ पूजा लगायत मध्यपुर थिमि क्षेत्रमा मनाइने विभिन्न ऐतिहासिक, सांस्कृतिक एवं पौराणिक नाच, जात्रा, चाडपर्व, रीतिरिवाज र संस्कृतिको संरक्षण र सम्वद्र्धन कार्यका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसै गरी नेपाल भाषा लिपि (रञ्जना लिपि र प्रचलित लिपि) लेखन तालिम सञ्चालन भएको, उपत्यका व्यापीबृहत धिमे बाजा प्रतियोगिता सञ्चालन, नगरपालिका भित्रका विभिन्न टोल बस्तीहरूको स्थानीय मौलिक नामलाई अपभ्रंश, परिवर्तन वा प्रयोगविहीन हुन वाट जोगाएर अभिलेखीकरण एवम् प्रतिष्ठापन गरेर मध्यपुर थिमि क्षेत्रका टोल बस्तीको इतिहास एवम् संस्कृतिको साथै पहिचानलाई समेत जगेर्ना  गर्न मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति गठन गरी सबै वडामा समुदाय भेला गरी ४३० वटा टोल बस्तीहरूको नामावली सङ्कलन गरिएको, मध्यपुर पर्यटन विकास समितिसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन वः फेस्टिभल, विस्का जात्रा सम्बन्धी प्रचारात्मक कार्यक्रमहरूको सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले मध्यपुर थिमि नगरपालिकाका वासिन्दाहरुलाई स्वरोजगार बनाउने अभिप्रायका साथ ६३० जनालाई विभिन्न ३२ वटा आय आर्जन तथा सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको, सेरा मिक्स व्यवसायको विकासका लागि आधुनिक चिम्नी निर्माण गरिएको र युवाहरूलाई सो व्यवसायप्रति अभिप्रेरित गराउन तालिम सञ्चालन गरिएको, युवा व्यवसायीहरूलाई प्रोत्साहन गर्न बारिस्ता, मन्टेश्वरी विभिन्न व्यावसायिक एवम् सिपमूलक तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिका भित्र स्ववासीका रूपमा रहेका नगरवासीलाई पुर्जा वितरणको कार्यक्रम सुरुवात गरी हालसम्म २ हजार वटा पुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरी करिब २ करोड रुपैंया राजश्व सङ्कलन गर्न सफल भएको बताउँदै उपप्रमुख श्रेष्ठले सहकारी नियमावली मस्यौदाको कार्य भइरहेको, सहकारी अनुगमन समिति गठन भई कार्य भइरहेको र समस्या ग्रस्त सहकारीका सदस्यहरूको बचत सुरक्षाका लागि न्यायिक समिति मार्फत प्रारम्भिक सुनुवाइ हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले न्यायिक समिति५२ वटा मुद्दा दर्ता भएकोमा १२ वटा फर्छ्यौट भएको र ४० वटा विचाराधीन रहेको बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मीहरूले नगरका विविध विषयमा जिज्ञासा राख्नुभएको थियो भने त्यसको जवाफमा नगरप्रमुख श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाध्यक्ष कृष्ण हरि आचार्यले स्पष्ट पार्नुभएको थियो । सो पत्रकार सम्मेलनमा नगरका ९ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नगरका प्रशासन महाशाखा प्रमुख केशव सिलवाल, योजना महाशाखा प्रमुख सत्यनारायण साहलगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।