मतदान केन्द्रबाटै खुकुरीसहितका हतियार बरामद

390

काठमाडौँः भोलि हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले मतदान केन्द्रबाटै खुकुरीसहितका हतियार बरामद गरेको छ ।

देशका विभिन्न भागमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन विरोधी गतिविधि तीब्र पारिरहेका बेला मतदान केन्द्रमै हातहतियार भेटिएका हुन् ।

प्रहरीले धादिङको गल्छी गाउँपालिका–५ पालचोकस्थित अमन्तादेवी मावि मतदान केन्द्रमा चेकजाँच गर्ने क्रममा खुकुरीसहितका हतियार बोकेका युवालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गल्छी गाउँपालिका–७ बस्ने ३२ वर्षीय अर्जुन अधिकारीलाई एकथान खुकुरीसहित शनिबार पक्राउ गरिएको हो ।

यस घटनाबारेमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

त्यसैगरी रामेछापकोः लिखु गाउँपालिका–६ देउराली बस्ने २३ वर्षीय रामकृष्ण खड्का, ३० वर्षीय हरिचन्द्र बरुवाल र  १६ वर्षीय रामहरि बरुवाललाई खुकुरीसहित हिँडिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको छ ।