चाँगुनारायण नगरपालिकाको १३ औँ नगर सभा , १ अर्ब ७१ करोडको बजेट प्रस्तुत 

135

भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औँ नगर सभा शुक्रवार देखि सुरु भएको छ ।

नीति तथा कार्यक्रम साथै आगामी वर्षको लागि बजेट सार्वजनिक गर्दै १३ औँ नगर सभा सुरु भएको हो । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्ष कोलागि १९० बुँदामा समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।

नगर प्रमुख खत्रीले भौतिक पूर्वाधार, सडक पूर्वाधार तथा यातायात, खानेपानी तथा सरसफाइ, विद्युत् तथा वैकल्पिक ऊर्जा, भवन तथा बस्ती विकास, कृषि तथा पशुपक्षी विकास, सहकारी, गरिबी न्यूनीकरण तथा उद्यमशीलताको विकास, उद्योग वाणिज्य तथा बजार व्यवस्थापन, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, लैगिंक समानता तथा सामाजिक समावेशीकरण, सामुदायिक एवं गैरसरकारी सङ्घ संस्था परिचालन, सामाजिक सुरक्षा एवं पञ्जी करण, वन, वातावरण, फोहोर मैला व्यवस्थापन, पूर्ण सरसफाइ तथा विपद् व्यवस्थापन, सुशासन, संस्थागत क्षमता विकास तथा सार्वजनिक सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सूचना तथा सञ्चारलगायत शीर्षकमा १९० बुँदालाई समेट्नु भएको छ । नगर प्रमुख खत्रीले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममाथि छलफल गरी शुक्रवारै नगर सभाले सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित समेत गरेको छ ।

त्यस्तै, नगर सभाका उपाध्यक्ष रमेश बुढाथोकीले आगामी आर्थिक वर्ष २०८० ०८१ को बजेट प्रस्तुत गर्नुभयो । नगर सभासमक्ष प्रस्तुत बजेट अनुसार आगामी आर्थिक वर्षको लागि १ अर्ब ७१ करोड ६ लाख १ हजार बराबरको बजेट विनियोजन गरिएको हो ।

चालु खर्च तर्फ ८१ करोड ७३ लाख ५६ हजार र पुँजीगत खर्च तर्फ ८९ करोड ३२ लाख ४५ हजार बजेट छुट्टाइएको छ ।

सार्वजनिक बजेट अनुसार नगर स्तरीय गौरवको आयोजनाका लागि ४ करोड, युवाहरूका लागि लक्षित गरी खेलकुद पूर्वाधार विकास गर्न ५ करोड, स्थानीय सरकारलाई नजिकको सरकारको रूपमा नागरिकको आभास दिलाउन विपन्न सहयोग कार्यक्रम अन्तर्गत २० लाख, आ आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न १, ३, ५, ७ र ९ नम्बर वडा कार्यालयहरूका लागि आन्तरिक तथा भौतिक पूर्वाधार व्यवस्थापन गर्न २ करोड २० लाख रकम विनियोजन गरिएको छ ।

उता बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मेयर उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन १ करोड बजेट ल्याइएको छ भने जसबाट थप युवाहरू उद्यम विकासमा प्रोत्साहन एवं समावेश गर्ने लक्ष्य राखिएको छ ।

नागरिकहरूमा स्वास्थ्य सेवा प्रभावकारी गर्न विपन्न तथा ज्येष्ठ नागरिकहरूका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिँदै १ करोड रकम विनियोजन गरिएको छ । चाँगुनारायण नगरपालिकामा रहेको अक्सिजन प्लान्ट मार्फत अक्सिजन उत्पादन गरी चाँगुनारायण बासीहरूलाई निःशुल्क वितरणको लागि २० लाख, नगर बासीहरूको खानेपानीको आवश्यकतालाई सम्बोधन गर्न ६ करोड ५३ लाख, यातायात पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी ५० करोड ४५ लाख, विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर लगायत नगर क्षेत्रभित्रका मठमन्दिर एवं सम्पदा संरक्षणका लागि ६ करोड १७ लाख ५० हजार विनियोजन गरिएको छ ।

नगरभित्रका बालबालिकाहरूको शिक्षामा गुणस्तरीयता कायम गर्दै बालिका तथा किशोरीहरूको विविध आयाममा सकारात्मक परिवर्तनका साथ सुरक्षित भविष्यको सुनिश्चितताका लागि कार्यान्वयनमा ल्याइएको बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमलाई निरन्तरता दिँदै ३५ लाख छुट्टाइएको छ ।

आर्थिक विकास तथा मानव जीवनको अपरिहार्य क्षेत्र कृषिमा आधारित रोजगार प्रवर्द्धन गरी कृषि पेसालाई सम्मानजनक बनाउन तथा आधुनिकीकरण एवं व्यवसायीकरण लागि ९२ लाख ५० हजार, पशु विकासका लागि पशु स्वास्थ्य आहार, नस्ल सुधार, सामुदायिक सेवा कार्यक्रम, फर्म तथा व्यवसाय सुदृढीकरण लगायत कार्यक्रमका लागि ९७ लाख, प्राकृतिक तथा मानवीय कारणले हुनसक्ने विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्दै सम्भावित स्थानहरूमा बाँध निर्माण, आगलागी, बाढी, पहिरोलगायत आकस्मिक रूपमा आइपर्ने जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा ३ करोड विनियोजन गरिएको छ ।