काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि दुई करोड रुपियाँको नव प्रवर्द्धन (स्टाट अफ) कोष निर्माण गर्ने भएको छ ।
नगरपालिकाभित्र उद्यम व्यवसाय गर्न चाहने उद्यमीहरूलाई प्रोत्साहन गर्न स्वरोजगार कोषसँगको साझेदारीमा दुई करोड रुपियाँको नव प्रवर्द्धन कोष निर्माण गरी स्थानीय सहकारीमार्फत बिना धितोमा सहुलियत ऋण प्रवाह गर्ने नीति बनाएको हो । नगरपालिकाको शनिवार बसेको सातौँ नगर सभाले आगामी आर्थिक वर्षदेखि नव प्रवर्तन कोष निर्माण गरी नयाँ सोच र योजना भएकालाई उद्यमी बनाउने नीति बनाएको हो ।
नगरपालिका भित्र धेरै सम्भावनाहरू भए पनि ती सम्भावनाहरूको पहिचान हुन नसकी त्यत्तिकै थन्किएर बसेको निष्कर्ष निकाल्दै नगरपालिकाले नव प्रवर्द्धन कोष स्थापना गरी नयाँ सोचलाई कार्यान्वयन गर्ने योजना बनाएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब पन्ध्र करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।