नगरपालिका र वडा कार्यालयमा हेल्प डेस्क राखिने 

70

काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी आर्थिक  वर्ष २०८०- ८१ देखि नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा हेल्पडेस्क राखी सेवाग्राहीलाई एकीकृत सेवा प्रवाहको व्यवस्था गर्ने भएको छ । सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले हेल्प  डेस्क राखी सेवा प्रवाहलाई प्रभावकारी बनाउन लागेको हो ।

शनिवार नगरपालिको सातौँ नगर सभामा नगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा त्यस्तो व्यवस्था गरेको हो ।

नगरपालिकाले अहिले नगर कार्यपालिका र दश वटै वडा कार्यालयबाटै सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि हेल्प डेस्क राख्ने व्यवस्था गर्न लागिएको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सभामा नगरपालिकाका वरिष्ठ लेखा अधिकृत आनन्दकुमार खड्कालाई ७४ प्रतिशत भन्दा बढी बेरुजु फछ्र्याैट गर्न योगदान गरेबापत सम्मान गरिएको थियो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि  दुई अर्ब पन्ध्र करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।