कोदोको रक्सीलाई ब्राण्ड बनाइँदै पालिका

204

काठमाडौँ । गौमुखी गाउँपालिकाले कोदोको रक्सीलाई ब्रान्ड बनाउने निर्णय गरेको छ ।

स्थानीय स्तरमा धेरै उत्पादन हुने कोदोलाई नै प्रयोग गरी रक्सी ब्रान्ड गर्ने निर्णय गाउँपालिकाले गरेको हो । कोदोको रक्सी आफ्नै गाउँपालिकामा बन्ने तथा ज्यादा मात्रामा कोदो उत्पादन हुने क्षेत्र भएका कारण स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन गाउँपालिकाले रक्सीलाई ब्रान्ड गर्ने निर्णय गरेको हो ।

रक्सीलाई ब्रान्ड मात्र नगरी गाउँपालिका भित्र ४० युपि (अन्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक समेत लगाएको छ ।

नयाँ आर्थिक वर्ष देखि नै पालिकाले बाहिरी रक्सी विक्रीलाई रोक समेत लगाएको हो ।

गाउँ सभाको पन्ध्रौँ अधिवेशनले बाहिरी रक्सी प्रतिबन्धका साथै रक्सीलाई ब्रान्ड बनाउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि पनि कदम चालेका छौँ’ उहाँले भन्नुभयो, “साउन १ गतेदेखि नै बजार अनुगमन सुरु गरिसकेका छौँ ।’ सो निर्णयको बारेमा यसअघि नै वडा वडामा प्रचार प्रसार गरिएको समेत उपाध्यक्ष रानाले बताउनुभयो ।

आफ्नो पालिकामा कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने गरेको छ । जसका कारण कोदोलाई नै प्राथमिकतामा राखेर यहाँका मानिसको जीवन स्तर उकास्न कोदोको रक्सीलाई ब्रान्ड बनाउन लागेको गाउँपालिकाले जनाएको छ ।