भक्तपुर । भक्तपुर जिल्ला बहिरा संघको आयोजनामा बहिरा महिला दिदीबहिनीहरुको लागि भक्तपुर जिल्ला मार्शल आर्टस हाप्किडो संघको सहकार्यमा मंगलबार चेतनामुलक आत्मरक्षा प्रशिक्षण कार्यक्रम भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यमा भक्तपुर सोकोस च्याम्हासिहमा सम्पन्न भयो ।
प्रमुख अतिथिको आशनबाट भनपाका उपमेयर रजनी जोशीले भनपाले विभिन्न सिपमुलक तालिमहरु साधारण व्यक्तिहरुलाई दिदै आएको तर बहिरा दिदीबहिनीहरुको लागि सांकेतिक तालिम बाहेक अन्य तालिमको लकडाउनले स्थगित भएको पुनः योजना बनाउन नपाएको दुखेसो पोखाउनु हुंदै आज बहिरा संघ स्वयमले महिला दिदीबहिनीको लागि चेतनामुलक आत्मरक्षा कक्षाको आयोजना गर्नुभएकोमा कृतज्ञता ज्ञापन गर्नु भयो । वहाँले वर्तमान समाजमा हरेक नागरिक समयमै सचेत सुरक्षित हुन आवश्यक छ, त्यसमाथि पनि बहिरा, अपांगता भएका दिदीबहिनीहरु लागि चेतनामुलक आत्मरक्षाकोबारे ज्ञान सिप हुनु आजको आवश्यकता हो भन्नुभयो ।
उक्त कार्यक्रममा अतिथिको आशनबाट वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले पुँजीवादी समाजमा पैसा हुने धनी वर्गले जे गरेपनि हुने हुँदा गरिबहरु सुरक्षित नहुने बताउँदै सपांग मात्र होइन, बहिरा, अपांगता भएका सबैकोलागि आत्मरक्षा कक्षा निकै आवश्यक रहेको बताउनु भयो ।
भक्तपुर जिल्ला मार्सल आर्टस हाप्किडो संघका अध्यक्ष एवं नेपाल हाप्किडो संघका केन्द्रीय प्रशिक्षक पद्मा खयरगोलीले वर्तमान अवस्थामा केही नैतिक आचारणहिन व्यक्तिहरुको कारण सपांग भन्दा बहिरा दिदीबहिनीको लागि चेतनामुलक आत्मरक्षाको बारे सुसुचित भइ आफैमा सक्षमता र आत्मबल हुनु आवश्यक छ, । बहिरामा बोल्न र श्रवण शक्ति नभएपनि अन्यमा निकै चनाखो भएको आफ्नो दिदीको अनुभव बताउनु भयो ।
सभापतिको आसनबाट भक्तपुर बहिरा संघका अध्यक्ष जयराम पकानेवारले बहिरा दोश्रो दर्जाको नागरिक होइन, हामीलाई पनि समाजमा आफ्नो पहिचान एवं अगाडी बढाउन सम्बन्धीत निकायबाट आर्थिक, शैक्षिक, सामाजिक आदि क्षेत्रमा पहल हुनुपर्ने बताउनु हुंदै हाम्रो बहिरा दिदीबहिनीहरुको लागि चेतनामुलक आत्मरक्षा कक्षा निकै भैपरिआउँदा दिनमा लाभप्रद हुने बताउनु भयो ।
कार्यक्रम १० वजेदेखि ४ बजेसम्म भक्तपुर जिल्ला मार्शल आर्टस हाप्किडो संघबाट पद्मा खयरगोलीले आत्मरक्षाको बारे २ घण्टा प्रस्तुतिकरण गर्नुभएको र प्रशिक्षक रविन्द्र श्रेष्ठ, मन्दिरा शाक्य, राजु सिं बजिको र संगिता मुस्याख्वले आत्मरक्षाका विभिन्न टेक्निकहरु प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा नेपाल टेलिभिजनका शर्मा र शिलु शर्मा र नानु जयनाले दोभाषेको भुमिका निभाउनु भएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभे्रपलाञ्चोक लगायत विभिन्न स्थानबाट बहिरा दिदीबहिनीहरु ७० जनाको सकृय सहभागी रहेको उक्त कार्यक्रममा सहभागीहरुको तर्फबाट लसता श्रेष्ठले चेतनामुलक आत्मरक्षा कार्यक्रमले आफुले धेरै नयाँ आत्मबलयुक्त कुरा सिकेको र भैपरिआउँदा डराएर भन्दा पनि परिस्थितिसँग सामना गर्न सक्ने क्षमता पाएको बताउनु भयो ।