चाँगुनारायण मन्दिरको  संरक्षण र सम्बद्र्धनमा नगरपालिकाको चासो, चाँगुनारायण विकास समिति बन्ने

422

भक्तपुर । ऐतिहासिक  र तथा पुरातात्त्विक चाँगुनारायण मन्दिरको  संरक्षण र सम्बद्र्धन चाँगुनारायण नगरपालिकाले गर्ने भएको छ । नगर प्रमुखकै संयोजकत्वमा समिति निर्माण गरी मन्दिरको संरक्षण र सम्द्र्धनमा नगरपालिका अगाडि सर्न लागेको हो ।

बुधवार मन्दिरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर प्रमुखकै संयोजकत्वमा मन्दिर व्यवस्थापन समिति निर्माण गर्ने निर्णय गरिएको छ ।  पुरातात्त्विक विद्, सम्पदा प्रेमी, नागरिक समाजका अगुवा, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय नागरिक लगायतको सहभागिता भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नगर प्रमुखकै अध्यक्षतामा समिति निर्माण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख जीवन खत्रीले अहिले भएका विभिन्न समिति अव्यवस्थित भएकाले सबै समितिलाई एकीकृत गरी व्यवस्थापन गर्न नगर प्रमुखकै अध्यक्षतामा समिति बनाउने प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले हाल चाँगुनारायण मन्दिरमा विभिन्न कारणले हुन नसकेका पूजा आजा तथा बाजा भजन दफा लगायतका विभिन्न परम्परालाई पुन जीवन्त बनाउन नगरपालिकाले समिति बनाउन खोजेको समेत जानकारी दिनुभएको थियो ।

उहाँले पशुपति विकास कोष जस्तै चाँगुनारायण विकास कोषको परिकल्पना स्वरूप काम गर्न लागेको जानकारी गराउँदै हाल चल्दै आएको रीति रिवाज तथा यसमा संलग्नहरूलाई भने नगरपालिकाले नचलाउने समेत बताउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक योजना तथा यातायात मन्त्री कृष्णलाल भँडेलले नगरपालिकाले चाँगुनारायणको जीवन्तता जोगाउन अपनत्व लिनु आफैमा गौरवको कुरा भएको बताउनुभयो । उहाँले नगरपालिकाले यसलाई अपनत्व लिँदा नेपालको पहिलो विश्व सम्पदा सुचीमा सूचीकृत मन्दिरको प्रचार प्रसार तथा सर्वधनमा टेवा समेत पुग्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले चाँगुनारायण मन्दिर पुरै नगर बासीको गौरवको स्थान भएको बताउँदै यसको सर्वधनमा लाग्नु सबैको दायित्व भएको बताउनुभएको थियो ।

कार्यक्रममा पुरातत्त्व वीदहरु, मन्दिरका पुजारी, मन्दिरमा विभिन्न माध्यमबाट सहयोग गर्ने अर्थात् बाजा बजाउने फुल जुटाउने भजन कीर्तन गर्नेहरू, वडाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय , गुठी संस्थान, पुरातत्त्व विभाग लगायतका स्थानबाट प्रतिनिधित्व गर्ने महानुभवहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरपालिकाले बनाउने भनेको समितिमा नगर प्रमुख, नगर उपप्रमुख, मन्दिरको भौगोलिक क्षेत्र रहेको वडा नं. ४ र ५ का वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,  पुरातत्त्व विभागका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय  भक्तपुरका अधिकृत स्तरका कर्मचारी, गुठी संस्थान भक्तपुरका प्रमुख, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख, सामाजिक, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा विशिष्ट योगदान दिँदै आएका व्यक्ति रहेको समिति बन्ने प्रस्ताव गरिएको जनाइएको छ ।

यस्तै कार्यक्रममा भने मन्दिर सँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तिहरूको पनि समितिमा प्रतिनिधित्व गर्नु पर्ने सहभागीहरूले सुझाएका थिए ।