कांग्रेस सांसद चन्द्र भण्डारी बर्न अस्पतालमा भर्ना

102

भक्तपुर ।  आगलागीमा परेर उपचार गराइरहनु भएका सांसद चन्द्र भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना हुनुभएकाे हाे ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेर उहाँ लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किनु भएकाे थियाे ।  आफू बुधबार अस्पताल भर्ना भएको उहाँले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएकाे छ ।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उहाँले लेख्नुभएकाे छ, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

उहाँको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना हुनुभएकाे हाे ।

गत फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा आमा हरिकलाको निधन भएको थियो भने गम्भीर घाइते हुनुभएका भण्डारीलाई थप उपचारका लागि ४ फागुनमा मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएकाे थियो ।