भक्तपुरकी सय वर्षिया बज्राचार्यले घरमै पाउनुभयो नागरिकता

220

भक्तपुर । एक सय वर्ष अर्थात् एक शताब्दी नाग्नुभएकी सेवा ग्राहीलाई भक्तपुर जिल्ला प्रशासनले घरमा नै पुगेर नागरिकता वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सय वर्षकी ज्येष्ठ नागरिक मोतीमाया बज्राचार्यलाई उहाँको घरमा नै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेको हो ।

कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे मध्यपुर थिमी नगरपालिका वडा नम्वर ४ स्थित बज्राचार्यको घरमै नागरिकता बोकेर पुग्नुभएको थियो ।

बज्राचार्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको भन्दै परिवारले सम्पर्क गरेपछि घरमै पुगेर सेवा प्रदान गरिएको खतिवडाले जानकारी दिनुभयो । एक शताब्दी पुगेकी ज्येष्ठ नागरिकलाई सेवा दिन पाउँदा सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले ज्येष्ठता, अपाङ्गता लगायतका विशेष कारणले कार्यालयमा उपस्थित हुन कठिनाइ हुने सेवाग्राहीलाई कार्यालयले घरमै पुगी सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभएको छ । यसै क्रममा विभिन्न स्थानमा जिल्ला प्रशासनले नागरिकता वितरण समेत गरी सकेको छ ।