निलबाराही गण नाचलाई मध्यपुर थिमि नगरपालिकाद्धारा बाजा हस्तान्तरण

95

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बोडेको निलबाराही गण नाचलाई मङ्गलवार ८ वटा दाग बाजा र १४ वटा पोङ्ग बाजा हस्तान्तरण गरेको छ । बोडेको ऐतिहासिक एवम् धार्मिक महत्वको निलबाराही गण नाचको संरक्षणका लागि नगरपालिकाले उक्त बाजा हस्तान्तरण गरेको हो ।

मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा सदियौँदेखि निलबाराही गण नाच गाईजात्राको भोलिपल्टदेखि चार दिन चार रात प्रदर्शन गरिन्छ । बोडे द्य प्याखँले प्रसिद्ध यो नाच जुनसुकै परिस्थितिमा पनि नरोकी लिच्छवीकालदेखी निरन्तर सञ्चालन हुँदै आएको छ ।

यो नाच एक कठिन तान्त्रिक विधि विधानयुक्त नाच हो । यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठुलै पानी परे पनि कतै ओट लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तिर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीँ कतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४÷१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान रहेको छ ।

देवगणलाई बाजा हस्तान्तरण गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले यहाँको कला संस्कृति नगरको सम्पत्ति भएको र यसको संरक्षणका लागि नगरपालिकाले हरदम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । परापुर्वकालदेखी सञ्चालनमा आइरहेको भैल (भैरव) प्याखँ (नाच), महाकाली प्याखँ, निलबाराही द्यो प्याखँ जगेर्ना गर्न, व्यवस्थित गर्न स्थानीय माग अनुसार नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।