काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सचिवालय सदस्य महेश लगायत ४५ केन्द्रीय सदस्यहरूले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
शनिवार सचिवालय सदस्य महेशले एक प्रेस विज्ञप्तिमार्फत तत्कालीन नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता पश्चात् नेतृत्वबाट कुनै पनि ठोस राजनीतिक कार्यदिशा विहीन, अकर्मण्यता नेतृत्वमा देखिएकोले आफूहरू उक्त पार्टीबाट अलग भएको घोषणा गरेका हुन ।
साथै उनले पार्टी नेतृत्व छदम संशोधनवाद यथास्थितिवाद–जडसुत्रीय–विसर्जनवाद र गोलचक्रवादको चरम गुट र पद प्रतिष्ठामा मात्रै नेतृत्व पङ्क्ति रुमलिरहेको अवस्थामा क्रान्ति सम्पन्न नहुने र त्यसका नेतृत्व अन्ततः छदम संशोधनवादको दलदलमा फसेको आरोपसमेत लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रान्तिको इतिहासमा १० वर्षे जनयुद्धको बाँकी कार्यभारलाई पूरा गर्न विभिन्न समयमा पार्टी पुनर्गठन गर्दै क. कञ्चनको नेतृत्वको ने.क.पा.(बहुमत) र ने.क.पा.(क्रान्तिकारी माओवादी) बिच वैशाख १६ गते भएको एकताले बनेको पार्टी र नेतृत्वबाट कुनै पनि ठोस राजनीतिक कार्यदिशा विहीन, अकर्मण्यता नेतृत्वमा देखिएको छदम संशोधनवाद यथास्थितिवाद–जडसुत्रीय–विसर्जनवाद र गोलचक्रवादको चरम गुट र पद प्रतिष्ठामा मात्रै नेतृत्व पङ्क्ति रुमलिरहेको अवस्थामा क्रान्ति सम्पन्न नहुने र त्यसका नेतृत्व अन्ततः छदम संशोधनवादको दलदलमा फसेको हुँदा मिति २०८० भदौ १६ गतेका दिनबाट केन्द्रीय सचिवालय सदस्य क. महेशलगायत ४५ जना केन्द्रीय सदस्यहरू क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालबाट अलग रहेको यसै विज्ञप्तिमार्फत सम्पूर्णमा जानकारी गराउँदछौँ ।’
‘आगामी दिनमा दलाल पुँजीवाद–दलाल संसदीय व्यवस्थाको अन्त्य र अमेरिकी साम्राज्यवादले थोपारेको कथित एमसिसी सम्झौता खारेज गर्नको लागि सशक्त आन्दोलन गर्न र नेपालमा सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अगाडि बढ्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरू, देशभक्त, राष्ट्रवादी शक्तिहरूलाई गोलबन्द हुन आह्वान गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।