मोदी मन्त्रीमण्डलका वातावारणमन्त्री दवेको निधन

415

भारतीय केन्द्रीय सरकारका बहालवाला वातावरणमन्त्री अनिल माधव दवेको निधन भएको छ। ६० वर्षीय दवे विगत ५ महिनादेखि निमोनियाका कारण अस्वस्थ रहेको बताइएको छ। लामो समय स्वस्थ हुन नसकेका दवेको बिहीबार बिहान दिल्लीको एम्स अस्पतालमा निधन भएको टाइम्स अफ इन्डियाले लेखेको छ। दवेको मृत्युमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सहकर्मी एवं एक आदर्श साथीको रुपमा अनिल माधव दवे जीको निधनबाट दुखी छुं। उनको आत्मालाई भगवानले चीर शान्ति दिनेछन्। लोक हितको कामका लागि उनलाई याद गर्नेछन्। हिजो राति मात्र उनी मसँगै थिए। हामीले केही रणनीतिका बारेमा चर्चा गरेका थियौं। उनको निधनले मलाई व्यक्तिगत क्षति भएको छ।’ त्यस्तै दवेको निधनमा भरतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीले पनि दुख व्यक्त गरेकी छन्।   भारतीय जनता पार्टीका नेता दवे पहिलोपटक सन् २००९ मा राज्यसभाका लागि निर्वाचित भएका थिए। दवे मोदीको मन्त्रीमण्डलमा सन् २०१६ जुलाई ५ मा केन्द्रीय मन्त्री बनेका थिए। उनी भारतको मध्यप्रदेशमा लामो समय राजनीति गरेर दिल्ली आएका थिए।