आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व सरकारमा न्यून हुनु दुर्भाग्य : गगन थापा

96

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा सीमित प्रतिनिधित्व हुनु दुर्भाग्य भएको बताउनुभएको छ ।

नेपाल व्युटिसियन सङ्घ चाँगुनारायण नगरपालिका इकाई समितिको आयोजनामा अनाथ बालबालिका सहयोग तथा तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारमा महिला प्रतिनिधित्व कम हुनु आफैमा दुर्भाग्य भएको बताउनुभएको हो ।

उहाँले नेपालमा अव नयाँ कानुनको आवश्यकता रहेको बताउँदै जसरी कानुनले नै ३३ प्रतिशत महिलाको संसद्मा प्रतिनिधित्व हुनु पर्छ भनेका कारण हाल प्रतिनिधित्व भएको छ त्यसै गरी प्रत्येक सरकारमा पनि महिलाको यती प्रतिनिधित्व हुनु पर्छ भन्ने निर्वाचन कानुनमा लेखिनु पर्ने बताउनुभयो ।

हाल स्थानीय निकाय देखि नै यती जना महिला दलित जनजाति आदी हुनु पर्ने भनेका कारण उनीहरूको प्रतिनिधित्व भए जस्तै सरकारमा पनि यती प्रतिनिधित्व हुनु पर्छ भन्ने लेख्न सबै महिला एक जुट हुनु पर्ने उहाँले बताउनुभएको थियो ।

संसद्मा ३३ प्रतिशत सहभागिता नभएमा पार्टीले चुनाव नै लड्न पाउँदैन तर समाजको मनोबल नै कानुन नभएसम्म महिला पुरुष समान हुने देखिएन । उहाँले भन्नुभयो ।

जसरी मिटर व्याजको विरोध गरेर कुनै हिंसाका कार्यक्रम नगरी माइतीघर मण्डलामा बसेर आवाज उठाउँदा नै मिटर व्याजको कानुन आयो यसै गरी अवका दिनमा चुप लागेर बसेर मात्र कसैले अधिकार नपाउने देखियो । महिलाको समान अधिकारका लागि सबै एक जुट हुनु पर्ने उहाँले बताउनुभएको थियो ।

बाहिरको आन्दोलनले भित्र असर अवश्य गर्ने छ यो विश्वको नै संसद्को अनुभव हो भन्दै उहाँले  अव निर्वाचन कानुन निर्माणा आगवै महीलालहरूले आफ्नो प्रतिनिधित्वको लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको उहाँले बताउनुभएको थियो ।

यस्तै उहाँले हाल नेपालमा बेरोजगारीको मात्र बढ्दो रहेको बताउँदै यसले देशलाई ठुलो नोक्सानी हुने बताउनुभयो । अव स्वरोजगार सृजना तथा रोजगार सृजना गर्नुको विकल्प छैन । वर्षमा ४ लाख ९० हजार भन्दा बढी बेरोजगार हामीले उत्पादन गर्दै आएका छौँ । यो दुर्घटनाको सङ्केत हो । उहाँले भन्नुभयो ।

अहिले युवा जो विदेश जान बाध्य भएका छन्, पहिला विदेश जाँदा नेपालमा पनि आम्दानी हुन्थ्यो अहिले भने उतै युवा बस्ने परिपाटिका कारण वैदेशिक रोजगारीबाट पनि अव देश चल्ने वाला छैन । अव नयाँ आर्थिक क्रान्तिका लागी रोजगारी सृजना गर्ने कार्यक्रम हरू नल्याउने हो भने अव देश चल्दैन । अव पालिका प्रदेशले नेपालमा रोजगारी प्राप्त गर्ने अवस्थाको सृजना गर्ने कामलाई नै बढी प्राथमिकताका साथ लिनु पर्ने उहाँको धारणा थियो ।

काँग्रेसको नारा भनेको रोजगारी श्रृजना गर्नु नै हो । यसको लागि सबै एक जुट भएर लाग्नु पर्ने उहाँको धारणा थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अव पालिकामा गठबन्धन नै भए पनि महिलाले नै मेयर पाउनु पर्ने माग जायज भएको बताउनुभयो । महिलाले चलाएको घर कति राम्रो हुन्छ त्यसै गरी कार्यकारिणी स्थानमा महिला लाई राख्दा पालिका र देश पनि राम्रो सँग नै चल्ने उहाँको धारण थियो । उहाँले तीजको शुभकामना दिँदै आफ्नो धर्म संस्कृति जोगाउन आफै लाग्नु पर्ने जसका लागि महिलाको ठुलो भूमिका समेत रहने बताउनुभएको थियो ।

साथै कार्यक्रममा बागमती प्रदेशका पुर्व भौतिक योजना मन्त्री कृष्णलाल भँडेल, नेपाली काँग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसी, महासमिति सदस्य एवं महिला सङ्घ भक्तपुरकी सभापति सरु बानियाँ, महासमिति सदस्य सङ्गीता फुयाल लगायतका वक्ताले महिला जागरण विना समाज परिवर्तन हुन गारो हुने बताउनुभएको थियो ।