बागमती प्रदेशसभाले चार विधेयक समितिमा पठाउन स्वीकृत

148

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले विभिन्न चार विधेयक विभिन्न समितिमा पुनः छलफलका लागि पठाउन स्वीकृत प्रदान गरेको छ ।

बैठकमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यसैगरी, उनले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठकातर्फबाट प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।

सो बैठकमा प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका क्रममा शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै, उक्त बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।

बागमती प्रदेशसभाले चार विधेयक समितिमा पठाउन स्वीकृत गरेको छ ।