भक्तपुरको ताथलीमा भव्य श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने

181

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा भव्य श्रीमद भागवत विराट पितृ मुक्ति महायज्ञ हुने भएको छ । आगामी असोज ११ गतेदेखि २७ गते सम्म ताथलीमा महायज्ञ हुने भएको हो ।
छोरीको घर ज्येष्ठ नागरिक आश्रमले उक्त महायज्ञ लगाउन लागेको हो ।
आश्रम सञ्चालन, भौतिक पूर्वाधार निर्माण तथा ज्येष्ठ नागरिक मिलन चौतारी लगायत प्राकृतिक चिकित्सालय आदीको निर्माण एवं आश्रमको नाममा जग्गा खरिदको प्रक्रियाका लागि महायज्ञको आयोजना गर्न लागेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमले जानकारी दिएको छ ।

विशाल पण्डालका साथ भक्तपुरमा नै पहिलो पटक यस्तो महायज्ञ हुन लागेको समेत आश्रमका सञ्चालक विजय मूर्ति महाराजले जानकारी दिनुभयो । उहाँका अनुसार १७ दिन सम्म चल्ने महायज्ञमा दान दक्षिणका लागि भक्तजनलाई दबाब दिने भन्दा उहाँहरूलाई भागवतको पूर्ण कथा सुनाउने नै आफ्नो लक्ष्य भएको समेत बताउनुभएको छ ।

आश्रममा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भागवतको ७५ प्रतिशत काम सम्पन्न भई सकेको तथा भक्तपुरका हरेक घरमा निमन्त्रण समेत पुगेको जानकारी दिनुभएको थियो ।


आश्रममा आयोजना हुने महायज्ञ स्थलमा दैनिक पाँच हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्ने सक्ने बताउँदै भागवत अवधिभर ७० वर्ष भन्दा माथिका वृद्ध बा आमाहरूको सम्मान समेत गरिने महाराजले जानकारी दिनुभयो ।
आश्रम निर्माणका लागि करिब ५ करोड लागत लाग्ने अनुमान आफूहरूले गरेको बताउँदै महायज्ञबाट दुई करोड ५० लाख सङ्कलन हुने अपेक्षा गरिएको समेत उहाँले बताउनुभयो ।
महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्रा हुने, महायज्ञका अवसरमा ५ सय भन्दा बढी बाल कन्याहरूको पूजन गरिने, सयौँ जनाको सामूहिक तुला दान, १०८ गौ माताको दूध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गर्ने, एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, चार वेद, पुराण पाठ पारायण सहित सम्पूर्ण आध्यात्मिक गतिविधि हुने उहाँले जानकारी दिनुभएको थियो ।
महायज्ञ स्थलमा पुग्नका लागि वृद्ध बा आमाहरूको सहजताको लागि भक्तपुरको जगाती देखि नाला सम्म निःशुल्क बस सेवा समेत रहने आश्रमले जानकारी दिएको छ ।