७० हजार किलो चिनी लुकायर कालोबजारी गरेको अभियोगमा विभागले गर्‍यो चिनी गोदाममा सिलबन्दी

41

काठमाडौं- सरकारले कालोबजारी गरेको अभियोगमा काठमाडौंको एक चिनी गोदाममा सिलबन्दी गरेको छ।

कुलेश्वरस्थित गुह्वेश्वरी ट्रेड लिंकको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार सिलबन्दी गरेको हो। बिहीबार गोदाम सिलबन्दी गरेको विभागले सोमबार सार्वजनिक गरेको छ।

ठूलो परिमाणमा चिनी लुकाएर राखेको र अत्यधिक मूल्यवृद्धि गरी थोक तथा खुद्रा बिक्रेतालाई बिक्री गर्दै आएको पाइएपछि गोदाममा सिलबन्दी गरिएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए।

लेबल नभएको र लुकाएर राखेको अवस्थामा ७० हजार किलो परिमाण रहेको १४ सय बोरा चिनीको गोदाममा सिलबन्दी गरिएको उनको भनाइ छ।

विभागका अनुसार व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिक्री बिलबिजकबिना नै महंगो मूल्यमा बिक्री गर्दै आएको थियो।

चिलुवालका अनुसार उक्त गोदाममा बरामद गरिएको चिनीको नमुना ल्याएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाइएको छ।

‘खाद्य विभागले खान योग्य रहेको पुष्टि गर्‍यो भने जफत गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराइनेछ,’ चिलुवालले भने, ‘अखाद्य भएको पुष्टि भए नष्ट गर्ने तयारी गरेका छौं।’

सिलबन्दी गरिएको गोदाममा दाल, चामललगायतका विभिन्न प्रकारका खाद्यान्नसमेत भण्डारण गरिएको पाइएकाले ती खाद्यपदार्थसहित चिनीको खरिद बिलविजक माग गरिएको उनले बताए।