भक्तपुरमा ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा

65

भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ३ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना ६ ख ५१ ९६ नम्बरका ट्रक चालक मकवानपुरको भिमफेदी गाउँपालिका २ भैँसेका २८ वर्षीय राजन विक, बा २ ख ८२ ०५ नम्बरको मिनी ट्रक चालक रोल्पाको जुरा घर भएका २७ वर्षीय दीपक विक र बा ५ ख ५२ ७७ नम्बरका हाईस चालक धादिङको गल्छी गाउँपालिका ५ का ३४ वर्षीय रमेश कमरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  नियन्त्रणमा लिएका ‍तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको  संयुक्त टोलीले हिजो  ९ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा  चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न उनले आग्रह गरे ।