काठमाडौँ जिससद्धारा जिल्लाका तीनवटै तहका कार्यालयको समिक्षा सम्पन्न

48

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले जिल्ला भित्रका स्थानीय, प्रदेश र संघीय सरकारले गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालित कार्यक्रमको समिक्षा सम्पन्न गरेको छ ।
असोज २१ र २२ गते दुई दिन गरी जिससले जिल्ला स्थित तीनवटै तहका कार्यालयको समिक्षा सम्पन्न गरेको हो ।
आइतबार समिक्षा कार्यक्रमकको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले जिल्ला समन्वय समितिलाई बलियो बनाउनुपर्ने तर्क गर्नुभयो । उहाँले संविधान र कानुनमा उल्लेख भएका संरचनालाई प्रभावकारी रुपमा काम गर्ने अधिकार प्रदान गरेपछि मात्र संघीयता कार्यान्वयन हुने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौँ भित्रका एउटा स्थानीय तहले गरेका असल अभ्यासको अर्का स्थानीय तहलाई कार्यान्वयन गराउनका लागि जिल्ला समन्वय समितिले आवश्यक सहजिकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले अन्तर स्थानीय तहका सामूहिक समस्याको सामूहिक समाधानका गर्नका लागि पनि जिससले भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
समिक्षा कार्यक्रममा सहभागि संघ, प्रदेश र स्थानीय तहले पर्याप्त स्रोत र साधनको अभावमा विकास निर्माणको काम माग अनुसार हुन नसकेको, प्रदेश र संघीय सरकारका योजना कार्यान्वयनमा समस्या भएको, अन्तर तह समन्वय र सहजिकरणको अभावमा विकास निर्माण, सेवा प्रवाह र सुशासन कायम गर्ने काममा समस्या सिर्जना भएको औंल्याएका थिए ।
समिक्षाा प्रस्तुत गरिएको प्रस्तुतीमा काठमाडौँका जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालले सहजिकरणको गर्दै राम्रो काम जुनसुकै कार्यालयले गरेका भए पनि अर्का कार्यालयले अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा काठमाडौँका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत योजना शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
संविधान र स्थानीय सरकार सञ्चालन ऐनले जिल्ला समन्वय समितिलाई जिल्ला भित्रका तीनवटै तहको नीति, योजना र कार्यक्रमको समन्वय, सहिजकरण र अनुगमन गर्न अधिकार प्रदान गरेको छ सोही अधिकार अनुसार जिससले तीनवटै तहको समिक्षा सम्पन्न गरेको हो ।