नगरकोटका बजार अनुगमन म्याद नाघेको अखाद्य नष्ट गरियो

145

नगरकोट । चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर ६ स्थित नगरकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । सोमबार उपभोक्ताको हित संरक्षणनार्थ उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो ।

बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जनाकारी दिए ।

अनुगमनमा बलराम स्टोरमा चिनी प्रति को. जि. रु. १३५ मा विक्री गरेको विक्री बिलबाट देखिएको तर खरिद बिल माग्दा देखाउन नसकेकोले यसलाई अनुचित व्यवसाय जन्य क्रियाकलाप गरेको देखिदा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरियो । साथै उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ ।

त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरूको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिवाना गरिएको छ । साथै उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ भने उक्त स्टोरलाई ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको छ ।

लामा कोल्ड स्टोर म्याद नाघेको भुजिया ७ पाकेट, फुर्डकेक दूध ९ पाकेट, मेरी बिस्कुट २ पाकेट जफत गरी नष्ट गरिएको छ । साथ उक्त स्टोरलाई म्याद नाघेको सामानहरू छट्टै राख्न, मूल्य सूची राख्न र अन्त शुल्कको अनुमति लिएर मात्र मदिरा विक्री वितरण गर्न निर्देशन दिइएको छ ।

नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिन भित्र व्यवसाय नवीकरण गर्न, मूल्य सूची राख्न, ढक तराजु तत्काल नवीकरण गर्न निर्देशन दिइएको अधिकृत पौडेलले जानकारी दिए ।

साह स्टोर एन्ड सप्लायर्समा म्याद नाघेको बटर २ पाकेट, सूजी ४९ पाकेट बरामद गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्रले जानकारी दिइएको छ । साथै  उक्त सप्लायर्सलाई मूल्य सूचि राख्न, ढक तराजु नवीकरण गर्न र व्यवसाय दर्ता नवीकरण गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुर उद्योग वाणिज्य सङ्घका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नियमित अनुगमन हुने गर्ने र दसैँ र तिहार चाडपर्व नजिक बढ्नसक्ने उपभोग्य बस्तुहरूको कालोबजारी र गुणस्तरहीन बस्तुहरू बिक्री वितरणलाई नियन्त्रण गरी उपभोक्ताको हितलाई मध्यनजर गर्दै अनुगमनलाई निरन्तरता दिने जानकारी दिए ।