‘ठुला कारोबारको डिलिङ सिंगापुर, हङकङ र युएईमा हुन्छ’ अख्तियार प्रमुख

25

एउटाले करप्सन गर्ने अर्कोले पैसा लिने परिपाटी बढ्दै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले विदेशमा डिल गरेर नेपालमा भ्रष्टाचार हुने गरेको बताएका छन् । सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठको बैठकमा अख्तियार प्रमुख राईले भने– ‘भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो ।’

ठुला कारोबार सिंगापुर, हङकङ र युएईमा डिलिङ हुने गरेको उल्लेख गर्दै राईले भने– ‘अन्तर्राष्ट्रिय स्तरमा डिलिङ भएर हुने भ्रष्टाचारको प्रमाण सङ्कलन गर्न कठिन हुन्छ, प्रमाण सङ्कलन गर्न सक्ने गरी कानुनमा संशोधन गर्न आवश्यक छ ।’ अन्तर्राष्ट्रिय स्तरमा ठुला भ्रष्टाचारको डिल भएको सूचना आए पनि त्यसलाई प्रमाणको रूपमा ल्याउन नसकिएको उनले बताए । अख्तियार प्रमुख राईले भने– ‘एमएलए ट्रिटि छ तर, बाइल्याटरल एग्रिमेन्ट गरे मात्र सूचना आउने हुनाले त्यसबारे सरकारले सोच्नुपर्ने अवस्था छ ।’

भ्रष्टाचारको स्वरूप फेरिएर ‘करप्सन एउटाले गर्ने तर, पैसा अर्कोले लिने’ परिपाटी आएको राईले बताए । उनले भने– ‘भ्रष्टाचार एउटाले गर्छ तर, लेखनदासले पैसा लिन्छ ।’ लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने उनले बताए ।

यातायात कार्यालयमा बिचौलिया र भन्सार कार्यालयमा एजेन्ट मार्फत ‘घुस’ लेनदेन हुन थालेको उल्लेख गर्दै राईले भने– ‘अन्य माध्यमबाट भ्रष्टाचार हुन थालेपछि करप्सन कसरी पत्ता लाग्छ ?’
राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियारको काम कारबाहीबारे सांसदहरूले छलफल गरेका छन् ।