काठमाडौँ। नेपाल फिफा विश्वकप २०२६ अन्तर्गत छनोटको दोस्रो चरणमा पुगेको छ । नेपालले लाओसलाई उनीहरुकै भुमिमा १–० ले हराएर पहिलो चरण पार गरेको हो । यद्दपि नेपालले दशरथ रंगशालामा भएको पहिलो लेगमा लाओससँग १–१ बराबरी खेलेको थियो । नेपाल समग्रमा २–१ को अग्रतासँगै लाओसलाई पछि पार्न सफल भयो ।
नेपालको लागि ५२ औं मिनेटमा मनिष डांगीले गोल गरेका थिए । उनलाई अन्जन विष्टले बल पास गरेका थिए । उनले यसलाई सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाए । यसपछि कुनै गोल नभएपछि उक्त गोल नै नेपाललाई जित दिलाउन पर्याप्त भयो । नेपालले दोस्रो चरणमा समूह एचमा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
पाकिस्तान पनि दोस्रो चरणमा कम्बोडियालाई १–० ले स्तब्ध तुल्याउँदै पाकिस्तान फिफा विश्वकप छनोटको दोस्रो चरणमा पहिलो पटक पुगेको छ । इस्लामाबादको जिन्नाह स्टेडियममा भएको दोस्रो लेगमा घरेलु टोली पाकिस्तानले जित निकालेको हो । कम्बोडियामा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । पाकिस्तानमा करिब आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना भएको थियो ।