काठमाडौं । एक जना चिनियाँ छात्राले अमेरिकामा दिएको दीक्षान्त भाषण अहिले सोसियल मिडियामा भाइरल भएको छ । उनले आफ्नो भाषणउपर उग्र प्रतिक्रियाहरू आएपछि माफी मागेकी छन् ।
बीबीसीका अनुसार मेरिल्यान्ड विश्वविद्यालयमा भाषण दिँदै चिनियाँ युवती योंग शुपिंगले अमेरिकामा ‘लोकतन्त्रको ताजा हावा’ को प्रशंसा गरेकी थिइन् । उनले चीनको वायु प्रदूषण र त्यहाँ लगाइएको बोलीमाथिको प्रतिबन्धको तुलना गरेकी थिइन् । उनको भाषणमा चीनमा प्रदूषणका कारण अनुहारमा मास्क लगाउनु पर्ने तर अमेरिकामा मिठो र ताजा हावा पाइने उल्लेख थियो । युट्युबमा पोस्ट गरिएको भाषणमा उनले भनेकी थिइन्, ‘‘मैले जसै एयरपोर्टबाहिर सास लिएँ र छोडेँ, आफूलाई स्वतन्त्र महसुस गरेँ ।’’
उनको यो भाषण चीनको सामाजिक सञ्जालमा सबैभन्दा चर्चित विषयहरूमध्ये एक बन्न पुग्यो । यसलाई पाँच करोड पटकभन्दा बढी हेरियो । हेर्नेहरूमध्ये अधिकांश उनको यस्तो भनाइप्रति रिसाएका देखिए । उनीहरूले आफ्नो मातृभूमिलाई सानो देखाएको र अपमान गरेको भन्दै उनको तीव्र आलोचना गरे साथै उनलाई चीन नफर्किन र अमेरिकामै बस्न चेतावनी दिए । तर विश्वविद्यालयले चाहिँ उनको बचाउ गर्दै भन्यो, भिन्न विचारलाई समेत सुन्नु जरुरी छ ।
चाइना मर्निंग पोस्टका अनुसार शुपिंगसँग रिसाउनेहरूमा मेरिल्यान्डमा पढिरहेका उनका सहपाठीसमेत रहेका छन् । उनीहरूले शुपिंगमाथि ‘झुटो बोलेको र धूर्तता गरेको’ आरोप लगाएका छन् । चीनका प्रमुख पत्रिकाहरूले शुपिंगको आलोचना गर्दै समाचार लेख्नुका साथै उनलाई पक्षपातपूर्ण भाषण दिएको आरोप लगाएका छन् । चौतर्फी आलोचनापछि शुपिंगले माइक्रोब्लागिंग प्लेटफर्म वीबोमा स्पष्टीकरण दिँदै भनिन्, ‘‘म मेरो भाषणमाथि आएका प्रतिक्रिया देखेर चकित र विचलित भएकी छु । म मेरो मातृभूमिसँग गहिरो पे्रम गर्छु ।’’
उनले पछि लेखिन्, ‘‘म माफी माग्छु र आशा गर्छु सबैले मलाई माफ गर्नुहुनेछ । मैले सबक सिकिसकेकी छु ।’’