माटोमा ६० प्रतिशत अम्लीयपन

34

काठमाडौं ।   म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ। आइतबार वडा कार्यालयमा सञ्चालन गरिएको माटो परीक्षण शिविरमा ३७९ नमुना परीक्षण गरिएकोमा माटोमा अम्लीयपन बढ्दै गएको  भेटिएको हो।

वडा कार्यालयको आयोजना एवम् मल तथा माटो परीक्षण केन्द्र पोखराको आर्थिक र प्राविधिक सहयोगमा आयोजित शिविरमा खेतीयोग्य जमिनमा अमिलोपन बढ्दै गएकाले अन्नबाली उत्पादन घट्न थालेको जानकारी गराइयो।

वडा अध्यक्ष यामबहादुर कार्कीले माटो परीक्षण प्रयोगशालाको रिपोर्टबाट उत्पादन हुने क्षेत्रमा समेत अमिलोपन देखिएकाले कृषि जोन घोषणा गरी माटोको उपचार आवश्यक रहेको बताए। ‘माटो सुधार्नका लागि आवश्यक सहयोग चाहिन्छ, कृषकको मेहनतअनुसारको उत्पादन हुन सकेको छैन,’ वडाध्यक्ष कार्कीले भने। उनले वडाभित्रका सबै बस्तीको माटो परीक्षण गरिएको बताए।

उनले वडा कार्यालयबाट बेनी नगरपालिका र कृषि ज्ञान केन्द्रबाट समेत परीक्षणको रिर्पोट लगेर माटोको उपचारका लागि बजेट विनियोजन गर्ने बताए।

शिविरमा मल तथा माटो परीक्षण केन्द्र, पोखराका प्राविधिक खुबराज बरालले परीक्षण गरिएको माटोमा अमिलोपन बढ्दै गएको देखिएको बताए। माटोमा अमिलोपन बढ्नाले उत्पादनमा ह्रास आउने उनले बताए।

माटो परीक्षणले आफ्नो जग्गाको अवस्था र बालीअनुसार प्रयोग गर्नुपर्ने विभिन्न पोषक तथा सूक्ष्म तत्त्वबारे थाहा पाएपछि कृषकले समेत कृषि क्षेत्रमा बजेट बढाउन माग गरेका छन्।

किसानले माटोमा रहेको उर्वराशक्तिलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षणको नतिजाअनुसार उपचारको आवश्यकता रहेको बताए।

माटो परीक्षणकै रिपोर्टका आधारमा किसानलाई माटो सुधारका लागि कृषि चुन उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ।