अदालत बिसुद्ध जनआस्थासँग जोडिएको संस्था हो : बस्तोला

82

धादिङ । अदालत बिसुद्ध जनआस्थासँग जोडिएको संस्था भएको जिल्ला अदालत धादिङका प्रमुख तथा न्यायाधीश गोपाल प्रसाद बास्तोलाले बताउनु भएको छ ।

नागरिकहरुले धेरै आशा र अपेक्षा गरेको संस्था अदालत भएको भन्दै बास्तोलाले अदालत प्रतिको विश्वास गुम्न नदिने स्पष्ट पार्नुभयो ।

सामाजिक सञ्जालबाट अदालत प्रति भ्रम फैलाउने काम गरीरहेको भन्दै उहाँले सन्चार माध्यमले त्यस्ता भ्रमलाई चिर्नुपर्ने दायित्व थपिएको बताउनुभयो ।

जिल्ला अदालत धादिङको आयोजनामा  धादिङबेसीमा सम्पन्न भएको सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बास्तोलाले सो कुरा बताउनु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा धादिङ जिल्ला अदालतबाट यस आर्थिक बर्षको ५ महिनामा भए गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।धादिङ जिल्ला अदालतका श्रेष्तेदार माधव भण्डारीले संचारकर्मीसंग अन्तरक्रिया राख्नुको उदेश्य, नागरिकको दृष्टिकोमा अदालत र संचारकर्मी, अदालती समाचार संकलन र यसका स्रोत, धादिङ जिल्ला अदालतको वर्तमान अवस्था लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो।

धादिङ जिल्ला अदालतको पछिल्लो तथाङ्कलाई हेर्ने हो भने यो चालु आर्थिक वर्षमा जम्मा ६ सय ३३ वटा मुद्धा दर्ता भएको छ। दर्ता भएका मुद्दा मध्ये सबै भन्दा बढि सम्बन्धबिच्छेद र सबैभन्दा कम वन पैदावर सम्बन्धीको मुद्धा दर्ता भएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा २ सय ४१ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको छ । जसमा १ सय २६ फछयौट भएको छ भने १ सय १५ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ ।

यसैगरी वन पैदावर तर्फ ११ वटा मुद्धा दर्ता भएकोमा २ वटा मुद्धा फछयौट भएको छ भने ९ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ।अदालतका प्रमुख तथा न्यायाधीश बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा न्याधिस गिता श्रेष्ठ, श्रेष्तेदार माधव भण्डारी, तहसिलदार ध्रवप्रसाद सुवेदी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।