क्यानडा पढ्न आएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धार गरी नेपाल पठाइयो 

93
(फोटो– एनआरएनए क्यानडाका सदस्य ज्ञवालीको साथमा साहिल श्रेष्ठ)
शिशिर सिंखडा, टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.८, बुद्ध पथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो ।
पढ्न आएका श्रेष्ठले पढाई को अतिरिक्त आफूले सोचे जस्तो काम नपाए पछि डिप्रेसनमा पर्दै गएका थिए । करिब १ वर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनिसंगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । सुरुवातमा उनको व्यवहार राम्रो भए पनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसङै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्धार गरेका थिए । एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरी हिजो नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी आज बुधवार बिहान काठमाडौँ पुगेको ज्ञवालीले जानकारी दिए । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।
क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा  भेटेर साबिक हस्पिटल, ब्राम्पटन पुर्‍याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरी नेपाल पठाउन सफल भएको बताए । उनी आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।