मृत भनिएकी भारतीय अभिनेत्री पूनम पाण्डे जिउँदै, माफी माग्दै भिडियो सेयर गरिन्

140

काठमाडौं। मृत्यु भनिएकी भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डे जीवित रहेकी खुलेको छ । अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन ‘पब्लिसिटी स्टन्ट’ गरेको बताएकी छन् । भिडियोमा उनले सबैसँग माफी पनि मागेकी छन् ।

क्यान्सरसम्बन्धी जनचेतना फैलाउन मृत्युको भ्रम फैलाएको उनले बताएकी छन् । शुक्रवार उनको इन्स्ट्राग्राममार्फत् नै मृत्यु भएको जानकारी दिइएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बिहान लाइभ आएर जानकारी दिन चाहे पनि आफ्नो निधनको खबरले मानिसहरू अन्योलमामा पर्न थालेपछि शनिबारै भिडियो शेयर गरेर माफी माग्ने निर्णय लिएको बताएकी छन् ।

‘म जिउँदै छु। पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाबारे पनि म यसो भन्न सक्दिनँ,’ भिडियोमा पूनमले भनेकी छन्, ‘ म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरु क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र एचपीभी खोप लिनुपर्छ। हामी यो सबै गर्न सक्छौं, ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् ।’

यसअघि शुक्रबार बिहान पाण्डेको मृत्युको हल्लाले भारतभर सनसनी फैलाएको थियो । भारतमा मात्रै होइन उनको निधनको खबर नेपाली सञ्चार माध्यममा समेत प्रकाशित भएको थियो ।