झारखण्डका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

26

झारखण्ड । सोमबार झारखण्डका नयाँ मुख्यमन्त्री चम्पाई सोरेनले विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। यसका लागि जेएमएमको नेतृत्वमा गठबन्धनका विधायकहरू आइतबार राति हैदराबादबाट राँची फर्केका थिए। अबेर राति विधायकहरूको टोली राँचीको सर्किट हाउस पुगेको हो ।

यस फ्लोर टेस्टमा पूर्व मुख्यमन्त्री हेमन्त सोरेनले पनि भाग लिनेछन्। सोरेन हाल ईडीको हिरासतमा छन् तर अदालतबाट अनुमति पाएपछि उनले यो प्रक्रियामा भाग लिनेछन्। ८० सिट भएको झारखण्डमा सरकार बनाउन ४१ जना विधायक चाहिन्छ।

आइतबार राति राँची पुगेका कांग्रेस विधायक आलमगीर आलमले मिडियासँग कुरा गर्दै भने, ‘हामी ठूलो बहुमतले विश्वासको मत जित्नेछौं। हामीसँग ४८ विधायक छन् ।’

चम्पाई सोरेनले राज्यपाल सीपी राधाकृष्णलाई बुझाएको समर्थन पत्रमा ४३ विधायकहरूको हस्ताक्षर छ। गठबन्धन सरकारमा २९ जना विधायक जेएमएमका, १७ जना विधायक कांग्रेसका र एक एक विधायक आरजेडी र सीपीआई (एमएल) का छन्। यो गठबन्धनमा कुल ४८ विधायक छन्।