नसर्ने रोगको अग्रस्थानमा क्यान्सर महिलाको प्रजनन अङ्गमा हुने क्यान्सर भयावह हुँदै

32
काठमाडौँ । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदय रोगलाई जितेर क्यान्सर रोग पुगेको छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बिपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले प्रत्येक जसो पालिकाको वडा कार्यालयमा दैनिक १ जना जसो क्यान्सर बिरामी सिफारिसका लागि जाने गरेको बताए । आफू बस्ने मध्यपुर ३ नं वडामा गत वर्ष २० जना मात्रै सिफारिस लिन पुगेको तथ्याङ्क रहेकोमा यो वर्ष २ सय पुगिसकेको जानकारी उनले दिए ।
नेपाल एनसीडी एलायन्सले काठमाडौँ महानगरभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी स्क्रिनिङ्ग प्रशिक्षणमा उनले नेपालमा स्तन क्यान्सर क्यान्सर र पाठेघरको क्यान्सरले महिलाहरूलाई नराम्रोसँग दुःख दिइरहेको बताए ।
महिला प्रजनन अङ्ग भएकाले अरूलाई भन्न पनि लजाउने र चिकित्सकमा जान पनि अप्ठ्यारो मान्ने गरेका कारण महिलाहरूको क्यान्सर रोगको उपचार गर्न ढिलाइ हुने गरेको उनले स्पष्ट पारे।
सहरी भेगका महिलाहरूमा समेत स्तन क्यान्सर र पाठेघरको क्यान्सरको बारेमा चर्चा गर्न लजाउने प्रवृत्ति भएको हुनाले महिला स्वयंसेविकामार्फत महिलाहरूसम्म सन्देश पु¥याउनका लागि कार्यक्रमको आयोजना गरेको आयोजक समितिका अध्यक्ष शान्तलाल मुल्मीले बताए ।
महिलालाई हुने क्यान्सरको स्थिति भयावह भएको पाइए पछि महिला स्वयंसेविकामार्फत यसबारे जनचेतना जागृत गर्ने र आफैले स्तन क्यान्सर परीक्षण गर्ने क्षमता प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ ।
हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपाल, पहल फाउन्डेसन, नेपाल मधुमेह समाजको सह आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा डा. न्यौपाने सुर्ती सेवन र मदिराका कारणका साथै खानपान एवं रहनसहनले गर्दा क्यान्सर रोगीहरूको सङ्ख्या बढिरहेको बताए ।
वरिष्ठ प्रशिक्षक किशोर प्रधानाङ्गले जङ्क फुड खाने अनि शारीरिक अभ्यास नगर्ने त्यसमाथि क्यान्सर रोगको बारेमा अरूले थाहा पाउला भनेर छलफल नहुने गरेको बताए ।
क्यान्सरको जोखिम कम पार्नका लागि शङ्का लाग्ने बित्तिकै चिकित्सकसँग परामर्श गर्नुपर्ने सन्देश स्वास्थ्य स्वयंसेविकाले घरघरमा पु¥याउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
वरिष्ठ परिचारिका सीता अधिकारीले स्तनमा गाँठागुठीहरु देखिए वा दुःखेमा तुरुन्तै स्वास्थ्य संस्थामा जान र आफैले समय समयमा स्तनको स्वपरीक्षण गर्न आग्रह गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सरको स्वपरीक्षणका विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए ।
हेल्थ राइट्स एन्ड टोबाको कन्ट्रोल नेटवर्क नेपालका पूर्ण दुवालले स्वास्थ्य अधिकारको हनन कतै भएमा र सुर्ती नियन्त्रणसम्वन्धि कानुनको पालना नभएमा उजुरी दिन आग्रह गरे ।