बालबालिका र किशोर किशोरीका हरेक समस्याको समाधान बिना ‘अर्को विश्व’ सम्भव छैन : सरोकारवाला

76
काठमाडौँ । बालबालिका र किशोर किशोरीका हरेक समस्याको समाधान बिना अर्को विश्व सम्भव नभएको सरोकारवालाहरूले बताएका छन् । विश्व सामाजिक मञ्चको साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार काठमाडौँमा भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स सत्रमा बोल्दै अधिकारकर्मीहरूले यस्तो बताएका हुन् ।
नयाँ विश्व भनेको नयाँ ग्रह बनाउने नभएर अहिलेको विश्वलाई नै बालबालिका एवं किशोर किशोरीका समस्यालाई समाधान गर्दै उनीहरूलाई स्वतन्त्र पूर्वक बाँच्न र आफ्नो भविष्य कोर्न सक्ने वातावरण बनाउन पर्ने उनीहरूको भनाइ थियो । उनीहरूले बालबालिका र किशोर किशोरी भोलिका देश निर्माता भएकाले उनीहरूको सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै युएनसीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सम्मेलनले बालबालिका तथा किशोर किशोरीहरूको आवाज सशक्त बनाउन महत्त्वपूर्ण हुने बताइन् । उनले यस्ता सामाजिक भेलाहरूमा विश्व चुनौतीका बारेमा विचार विमर्श र छलफलले यस्ता चुनौतीलाई समाधान गर्ने उपाय खोजी हुने बताइन् ।
उनले वर्तमान अवस्थामा युद्धमा बालबालिकाको ज्यान जाने डरलाग्दो अवस्था आएकोले बाल अधिकारको संरक्षण गर्दै विश्वलाई सुरक्षित रूपमा अघि बढाउन सबैको प्रतिबद्धता  आवश्यक भएको बताइन् ।
सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौँ चुनौतीका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र सङ्घर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।
त्यसै गरी डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिकाका निमित्त एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीले विश्वमा बिग्रँदै गएको वातावरण र जलवायु परिवर्तनले विश्वव्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।’ उनले विशेष गरी पिछडिएका र आदिवासी बालबालिका जो बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित छन् । उनीहरूका अधिकारलाई बिग्रँदो वातावरणीय प्रभावविरुद्ध लड्नका लागि प्रमुख मुद्दा बनाएर अगाडि जानुपर्ने बताइन् ।
कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न वक्ताहरूले बालविवाह, भोकमरी युद्ध, आप्रवासन, बेचबिखन, बाढी पहिरो, यौन शोषण लगायतका क्षेत्रमा बालबालिका र किशोर किशोरीलाई लगाउनु दुःखद भएको बताएका छन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले यस्ता कार्यक्रम बालबालिका र किशोर किशोरीको अधिकारको लागि दबाब सिर्जना फलदायी हुने बताए । उनले भने, ‘बालबालिका र किशोर किशोरीको अधिकार र उनीहरूको न्यायको लागि सुझावसहितको दबाब दिन हामी यहाँ उपस्थित भएका छौँ ।’
बालबालिका तथा किशोर किशोरी आफ्नै घरमा असुरक्षित हुनु, घरमा नै भेदभावको सिकार हुनु लगायतका अनेकन् समस्याहरूमा फसिरहेको बताउँदै सत्रका वक्ताहरूले यस्ता समस्याको समाधानका लागि जोड दिएका छन् ।
अधिकारकर्मी गौरी प्रधानले मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताउँदै बाल बालिकाका सवालमा बालमैत्री अलग्गै कानुन ल्याउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी डा. कुन्दन अर्यालले अहिले पनि विद्यालय शान्ति क्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बाल अधिकार प्रत्याभूतिका लागि भयरहित वातावरणको सुनिश्चितता गर्नु पर्नेमा जोड दिए । उनले बाल अधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए ।
यस्तै कार्यक्रममा जलवायु परिवर्तनले पनि बालबालिका एवं किशोर किशोरीहरूमा नकारात्मक प्रभाव पारेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।
कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिकाका लागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । उनले भने, ‘हामीले फरक विश्व बनाउने भनेका होइनौँ । सबै एकजुट भएर लाग्यौँ भने यही विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ । अध्यक्ष महर्जनले बाल अधिकारका सवालमा सम्पन्न भएको यो सम्मेलनले एउटा इतिहास कोर्न सफल भएको बताए ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना गरिएको यो सम्मेलनमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल गरिएको छ ।
यस्तै वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारका विषयमा पनि छलफल भइरहेको छ ।